१७ असार २०८३, बुधबार

आयोगले कांग्रेस महामन्त्री विश्वप्रकाशलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

कात्तिक ४, २०७९
आयोगले कांग्रेस महामन्त्री विश्वप्रकाशलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले शुक्रवार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

आयोगले महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार केवल निरौला र उनको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गरेका थिए । 

उक्त श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गर्नुभएको होइन भन्नसकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ । 

आयोगले ‘रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ?’ भनी प्रश्नसमेत सोधेको छ ।

आयोगले महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । उपन्यायाधिवक्ता वाग्लेले निर्वाचन आचारसंहिता लागू भइसकेपछि निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर निर्वाचनमा उम्मेदवार रहेकाले आचारसंहिताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने उल्लेख गर्दै आगलागी पीडितलाई पैसा वितरण गर्नु निर्वाचन आचारसंहिताविपरीत भएको बताए । उनले निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालच देखाउनु हुँदैन भन्ने आचारसंहिताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार उहाँलाई स्पष्टीकरण सोधिएको पनि स्पष्ट पारे । 

उपन्यायाधिवक्ता वाग्लेले महामन्त्री शर्माले आयोगलाई पठाएको जवाफपछि आयोगले जवाफको गहन विश्लेषण र अध्ययन गरी उचित कदम लिने स्पष्ट पारे । 

उपन्यायाधिवक्ता वाग्लेले शुक्रवारसम्मको तथ्यांकअनसार निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटालाई स्पष्टीकरण सोधेको र त्यसमध्ये ३० वटा जवाफ आएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्