
महाजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पछिल्लो फिल्म ‘महापुरुष’ शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मलाई लिएर निर्माण टिम निकै आशावादी देखिएको छ ।
प्रदर्शन मिति नजिकिँदा निर्माण टिमले प्रचार–प्रसारलाई समेत तीव्रता दिइरहेको छ । यसैबीच फिल्मको टिमले शनिवार बेलुका काठमाडौंको नयाँ बानेश्वर चोकमा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । शनिवार साँझ आयोजित ‘महापुरुष महा देउसी भैलो कार्यक्रम’ नाम दिइएको कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, अन्जना बराइली, अरुण क्षेत्री, राजाराम पौडेलले प्रस्तुति दिएका थिए ।
इन्द्रेणी कार्यक्रम, रेडियो अडियो, काठमाडौं महानगरपालिका वडा नम्बर १०, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, थापा गाउँ सुधार समितिलगायतको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।
इन्द्रेणी टिमसँग देउसी भैलो खेल्दा फिल्मका कलाकारहरूलाई दर्शकहरूले साथ दिएका थिए । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहित टिमले देउसी भैलो गीत गाएको थियो । यो कार्यक्रम हेर्न नयाँ बाँनेश्वर चोकमा दर्शकहरूको बाक्लो भीड लागेको थियो ।

प्रदीप भट्टराईको लेखन एवं निर्देशनमा तयार भएको ‘महापुरुष’ फिल्मले एक्लोपनको कथा पेश गर्छ ।