रुस र युक्रेनबीच चलिरहेको युद्धमा अमेरिका र उसका साझेदारहरूले प्रत्यक्ष हस्तक्षेप गर्ने सम्भावना रहेको अमेरिकी सेनाका सेवानिवृत्त जनरल डेभिड पेट्रायसले बताएका छन् ।
फ्रान्सको लक्सप्रेस साप्ताहिकसँग शनिवार कुराकानी गर्दै पेट्रायसले नेटो सदस्य मुलुकहरूमाथि कुनै जोखिम नरहे पनि अमेरिकाले युक्रेनमा प्रत्यक्ष हस्तक्षेप गर्ने सम्भावना रहेको उनको आकलन छ ।
अहिलेसम्म अमेरिकाले युक्रेनमा रुसविरुद्ध छद्मयुद्ध मात्र लडिरहेको छ, प्रत्यक्ष सहभागिता जनाएको छैन ।
नेटोको साटो अमेरिकाले नयाँ गठबन्धन बनाउन सक्ने पेट्रायसको विश्वास छ । पेट्रायस केही समयका लागि अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक पनि रहिसकेका छन् ।
रुसले युक्रेनमा स्तब्ध बनाउने तथा त्रासद कदम चाल्ने अनि अमेरिका तथा अन्य मुलुकले त्यसको जवाफ फर्काउने सम्भावनालाई पेट्रायसले औंल्याएका छन् । उनीहरूले प्रतिक्रिया त दिनेछन् तर त्यो नेटोका रूपमा नभई अन्य किसिमको गठबन्धनमार्फत हुन सक्ने उनको भनाइ छ ।