
चलचित्र ‘प्रेमगीत ३’को सफलतासँगै ‘प्रेम गीत ४’ निर्माणको चर्चा छ । दर्शकहरू पनि ‘प्रेम गीत ४’लाई लिएर पर्खाइमा देखिन्छन् । यद्यपि, निर्माता एवं निर्देशक सन्तोष सेनले तत्काल ‘प्रेम गीत ४’ नबनाउने उद्घोष गरेका छन् । आइतवार बालगृह महासंघमा चलचित्रको सफलताको खुशी साट्न आयोजित कार्यक्रममा सन्तोषले तीन/चार वर्षदेखिको प्रेसर बल्ल कम भएको बताउँदै केही समयको आरामपछि नयाँ चलचित्रको तयारीमा लाग्ने बताए । उनले ‘प्रेम गीत ३’को विश्वव्यापी प्रदर्शनपछि आफूहरूमा चुनौती पनि निकै थपिएको बताए ।
‘फिल्म १२ सय स्क्रिनमा रिलिज गरेका थियौँ । अब, २ हजार स्क्रिनमा रिलिज गर्नुपर्ने चुनौती हामीमा छ । त्यो स्तरको फिल्म बनाउनुपर्ने हुन्छ’, उनले भने, ‘केही समय आराम गरेर आइडियामा छलफल गर्छौ । कुन हिसाबले कस्तो कन्टेन्ट दर्शकमार्फत ल्याउने र अहिलेको दर्शकको माग के हो अध्ययन गरेर पूर्वतयारीका साथ आउनेछौँ ।’
उनले ‘प्रेम गीत ४’ तत्काललाई रोकेर नयाँ नाम, नयाँ विषयवस्तुमा अगाडि बढ्ने सोँच रहेको बताए । ‘प्रेम गीत ४ लाई अहिले थाँती राख्छौँ होला । ४ लाई ब्रेक गरेर अलिकति नयाँ नाम, नयाँ विषयवस्तु, कन्टेन्टलाई लिएर अगाडि बढ्ने सोँच छ’, उनले भने, ‘अहिलेसम्म दिमागले सोचिरहेको जति पनि आइडिया छ, त्यसमा प्रेम गीत ४ छैन ।’
यद्यपि, आउँदो फिल्म अन्तर्राष्ट्रियरूपमै प्रदर्शन लक्ष्यसहित निर्माण गर्ने बताए । अभिनेता प्रदीप खड्काले आउँदा दिनमा पनि विश्वजारमा जाने र नेपाललाई प्रतिनिधित्व गर्ने खालका फिल्म आफ्नो प्राथमिकतामा पर्ने बताए ।
असोज ७ गतेदेखि नेपाल, भारतलगायतका देशमा एकसाथ प्रदर्शनमा आएको ‘प्रेम गीत ३’मा प्रदीपसँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, प्रेम पुरीलगायतको अभिनय छ । फिल्मले नेपालबाट १५ करोड एवं विश्व बजारबाट ३९ करोड ग्रस कलेक्सन गरेको छ ।