
हिन्दू नेपालीहरूको पर्व तिहारमा फूलहरू विदेशबाट आयात गर्न प्रतिबन्ध भए पनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ । तिहारको पूर्वसन्ध्यामा काठमाडौंका बजारहरूमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको हो ।
बजारमा नेपाली फूलहको मूल्य भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधरणहरूले गुनासो गरेका छन् । घरका झ्याल, ढोका पसल सजाउनको लागि प्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरूमा भन्दा यसवर्ष बढेको सर्वसाधारणले बताएका छन् ।
सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भने पनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रुपमा बिक्री भइरहेको स्वयं व्यापारीहरू नै बताउँछन् । उनीहरूले फूलमा नेपाल आत्मनिर्भर भए पनि भारतबाट फूल आयात हुँदा नेपाली फूल उत्पादन गर्ने किसान र व्यापारी मारमा परेको गुनासो गरेका छन् ।
सोमवार काठमाडौंको न्युरोडमा माला व्यापारी प्रेमबहादुर गिरीले विगतका वर्षहरूमा भन्दा यो वर्ष मौसमको कारण फूलको मूल्य बढेको बताए । उनले तिहारभन्दा अगाडि फूल वर्षाका कारण कुहिएकाले बजारमा नेपाली फूल महँगो भएको बताए । व्यापारी गिरीले तिहारमा भारतबाट पनि धेरै मात्रामा फूल आयात भएकाले नेपालमा उत्पादित फूल व्यापारीहरूलाई समस्या भएको गुनासो गरे । उनले विगतका वर्षहरूको भन्दा अहिले भारतबाट आयात हुने फूलमा कमी आएपनि पूर्ण रुपमा नरोकिएको बताए । नेपाली उत्पादनलाई सरकारले व्यवस्थित गरेर आयातलाई पूर्णरुपमा रोक्नुपर्नेमा सरकारले नसकेको बताउँदै नेपाली उत्पादनलाई प्राथमिकता दिने सरकार नरहेको उनले आरोप लगाए ।
भारतबाट फूल आयात प्रतिबन्ध भनिए पनि बजारमा व्यापारीहरूले बेच्दा नै भारतीय माला र नेपाली माला भन्दै बेच्ने गरेको एक व्यापारीले बताए । उनले भारतबाट माला आयातमा रोक लगाएको भनिए पनि बजारमा भारतीय माला पनि प्रशस्त रहेको बताए ।
त्यस्तै न्युरोडमा सयपत्री फूलको माला किन्न आएका सर्वसाधारण विपिन खड्काले बजारमा विगतका वर्षहरूको भन्दा १० प्रतिशत भन्दा बढी मूल्य बढी परेको बताए । उनले यो वर्ष नेपाली उत्पादनलाई प्राथमिकता दिएर भारतबाट कम आयात गर्नु राम्रो भएको बताए । खड्काले देशमा नै रोजगारी सिर्जना गर्नको लागि र नेपाली उत्पादन बढाउनको लागि मूल्य बढी भए पनि प्राथकिता दिनुपर्ने बताए ।
तिहारको तेस्रो दिन बजारमा यतिबेला माला किन्नेको भीडभाड बढेको छ । बजारमा फूलको माला तथा अन्य रङलगायत भाइमसला, टोपी, लक्ष्मीको फोटाहरूको बिक्री र खरिद गर्ने मानिसहरूको उल्लेख्य भीड छ ।