०९ साउन २०८३, शनिबार

शीतल निवासमा बालबालिकाको देउसीभैलो

कात्तिक ७, २०७९
शीतल निवासमा बालबालिकाको देउसीभैलो

राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरूको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । 

सो कार्यक्रममा राष्ट्रपति लगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो । दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बीच–बीचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।

कार्यक्रममा कलाकारहरूले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरू पनि प्रस्तुत गरेका थिए । बालमन्दिरका बालबालिकाहरुले नृत्य पनि प्रश्तुत गरेका थिए ।

देउसीभैलोसँगै प्रस्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चाखपूर्ण रूपले हेरेकी थिइन् । प्रस्तुतिहरू सकिएलगत्तै उनले देउसे टोलीलाई नाङलोमा राखेर दान दिएकी थिइन् । 

यससँगै भैली टोलीले आशिष दिएका थिए । आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगति तथा सुस्वास्थ्यको कामना गरिएको थियो । ‘घरमा लक्ष्मीले बास गरुन्, आगामी वर्ष पनि आउन पाउँ’ लगायतको आशिष दिइएको थियो । आशिषमै पाएको दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो ।

अन्त्यमा भैली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक तस्बिर खिचाएर देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्