
गत असोजको अन्तिम हप्तामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुर्याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला तिहारका बेला अँध्यारै बनेको छ ।
गत असोज १९–२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युत् गृहको ११०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको छ ।
बाढीपहिरोबाट विद्युत् गृहको सबस्टेसनका संरचनामा पनि क्षति पुगेको छ ।
बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्नेछ । नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण शुरू गरिसकेको छ । चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी विद्युत् आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले बताए । ‘पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल विद्युत् आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत् उत्पादनको प्रयास गरिरहेका छौं,’ उनले भने ।
भौगोलिक रूपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा विद्युत् आपूर्ति गर्दै आएको छ । मुगुमा विद्युत् सेवा लिने ग्राहकको संख्या ३१०० छ ।