२६ जेठ २०८३, मंगलबार

काठमाडौंमा हुम्ली संस्कृतिको प्रदर्शन

कात्तिक ९, २०७९
काठमाडौंमा हुम्ली संस्कृतिको प्रदर्शन

अपर हुम्लाका युवाहरुले त्यहाँका युवाहरुको सवाल तथा कला–संस्कृतिको पहिचान र जगेर्नाको नीम्ति मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरेका छन्, सो कार्यक्रममा बोल्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले हुम्ली नै राज्यको नीति निर्माणको तहमा पुग्दा मात्रै हुम्लीको न्याय हुने बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि डा.रावलले अझैपनि यो देशमा दुई वटा देश भएको र हुम्ला र हुम्लीले अझै पनि दोस्रो राज्य र नागरिकको दर्जामा रहनु परेको कटू सत्य भएको धारणा राखे । 
उनले अब हरेक क्षेत्रमा हुम्ली अग्रसर नभएसम्म हुम्लाले वास्तविक न्याय नपाउने जिकिर गर्दै भने,“जबसम्म हामी राज्यका हरेक पोलिसी निर्माणको तहमा पुग्दैनांै तबसम्म राज्यले राम्रोसँग हाम्रा आवाज सुन्ने छैन, त्यसकारण हुम्लाको वास्तविक पहिचानको लागि मेहनत गर्न जरुरी छ ।” आफूले विभिन्न अवसरहरु प्राप्त गरेपनि हुम्ला र कर्णालीका लागि केही गर्ने भनेर दत्तचित्त भएर लागेको र आगामी युवाहरुले पनि अब हुम्ला र कर्णालीको लागि क्षमता प्रदर्शन गर्न आग्रह गरे । नाम्खा र लिमिको कला तथा  संस्कृति प्रदर्शन गर्ने युवायुवतिहरुलाई धन्यवाद दिँदै आफू जहाँ भएपनि आफ्नो पहिचानलाई जर्गेना गर्नुपर्ने बताए ।

त्यसैगरी, आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकालले आफूहरुले हुम्लासँग काम गरेको २५ वर्ष पुगेको बताउँदै हुम्लालाई बाहिरकाले जे दृष्टिले देखेपनि हुम्ला हरेक हिसाबले अपार सम्भावना बोकेको जिल्ला भएको बताए  । 

कार्यक्रममा हालै पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो हुँदै कास्यपदक जित्न सफल हुम्ला जिल्ला सर्केगाड गाउँपालिका १ जैरकी प्रमिला बुमीलाई प्रमुख अतिथिबाट खादा लगाएर अभिनन्दन गरिएको थियो । 

कार्यक्रममा नाम्खा विद्यार्थी युवा समाजका अध्यक्ष तेन्जिन जिन्दुप लामाले अपर हुम्लाको युवाहरुको बारेमा पावर प्वाईन्ट प्रस्तुत गरी त्यहाँको अवस्था बारे जानकारी गरेका थिए । 
कार्यक्रममा ८ वटा नृत्य, एउटा फेसन सो, तीन वटा पावर पोइन्ट प्रस्तुत र एउटा नाटक प्रस्तुत गरिएको थियो ।
निन्बा युवाको प्रतिनिधित्व गर्दै साङ्के तेन्जिन लामाले पढेर गएका युवाहरु पुनःहुम्लाको समाजमा समाहित हुन र आफ्नो उज्वल भविष्यको वातावरण नभएको बताए । सो क्रममा हुम्ली संस्कृतिको प्रदर्शन गरिएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्