
प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ले प्रदान गर्ने ‘पाटा फेस अफ द फ्युचर अवार्ड’ बाट युवा पर्यटनकर्मी सुरेशसिंह बुडाल सम्मानित भएका छन् ।
नेपाली पर्यटन क्षेत्रमा दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रवद्र्धनमा भूमिका निर्वाह गरेको भन्दै बुडाललाई उक्त अवार्डबाट सम्मान गरिएको पाटा नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ । पाटा अन्तर्राष्ट्रियद्वारा प्रदान गरिने सो अवार्ड प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तित्वलाई प्रदान गरिने प्रतिष्ठित सम्मान हो ।
वर्ष २०२० को पाटा फेस अफ द फ्युचर अवार्ड विजेताका रुपमा सुरेशसिंह बुडाललाई चयन गरिएको थियो । कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण हुन सकेको थिए । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत बुडालले पाटाको दक्ष जनशक्ति निर्माण अभियानअन्तर्गत नेपालमा विविध कार्यक्रम आयोजना गर्न तथा मानव जनशक्ति विकास र युवा पुस्ताको सशक्तीकरण अभियानसमेत निर्वाह गरेको भूमिकाको प्रशंसास्वरुप अवार्ड प्रदान गरिएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) को रसअल खेमाह सहरमा आयोजित पाटा एनुअल समिट २०२२ अन्तर्गत अक्टोबर २६ तारिखका दिन सोनारा अल वादी क्याम्प, द रिड्ज काल्र्टन अल वादी डेजर्टमा सम्पन्न पाटा अवाडर्स समारोहकाबीच बुडाललाई अवार्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।