
सडक निर्माणका क्रममा भारतीय पक्षले विष्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर दार्चुलाका एक बालको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको व्यास नगरपालिका २ तम्पाकुका १२ वर्षीय पवन महरा रहेका छन् । भारतीय पक्षले महाकालीपारी पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन विस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएको बताइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बालकको मृत्युको कारण छानबिन र राहतका लागि पहल शुरु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । उनले घटनाको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन् ।
मन्त्री बडूले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको उनको सचिवालयले जानकारी दिएको छ ।