गृहमन्त्री बालकृष्ण खाँणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाँणले गृह प्रशासनलाई निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।
त्यहाँ विष्फोटक पदार्थ पड्किँदा १ जनाको उपचारका क्रममा मृत्यु भएको र ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले जानकारी दिए ।
घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शनिवार बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताए ।
उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।
नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।