काठमाडौँ, २४ साउन- उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको खुलासा भएको छ । गच्छदारको ‘बदमासी’ बाहिर आएपछि २५ साउनमा बस्ने संसद् बैठकबाट पारित गर्ने तयारी गरिएको उक्त विधेयक कार्यसूचीबाट हटाइएको छ ।

सामाजिक न्याय तथा मानवअधिकार समितिमा विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमा ६ महिना लामो छलफलपछि निस्किएको निर्णय फेरबदल गरिएको हो । उपप्रधानमन्त्री गच्छदारले आदिवासी जनजाति, मधेसी, थारू तथा मुस्लिम आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको निष्कर्ष फेरबदल गरेको भन्दै समितिले आपत्ति जनाएको छ ।
समितिको निर्णय हेरफेर गरिएको थाहा पाएपछि सभामुख ओनसरी घर्तीलाई जानकारी गराएर विधेयक पास हुनबाट रोकिएको समिति सभापति सुशीलकुमार श्रेष्ठले बताए, नयाँ पत्रिकामा खबर छ ।