
नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो ।
आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसविरुद्ध आन्दोलन गर्नु परेको जिकिरसमेत गरे । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे ।
‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो । उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन् । यी पार्टीका पनि कमिला बराबर नै हुन् । यी जनता भनेका, अरू पार्टी भनेका, कांग्रेस भनेका यी छिचिमिरा हुन् । यीनको काम छैन भन्ने हिसाबले सोच्नुभयो । संसारमा कोही छ भने म छु । कोही प्रतापी छ भने म छु । कसैसँग त्यो सामर्थ्य छ भने त्यो मसँग छ । मसँग जति यो सामर्थ्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो । र, उहाँलाई एक खालको भन्ने हो भने उहाँलाई हनुमान नाच्ने हुन्छ नि एउटा झाेँक चल्ने, राजनीतिक भयंकर ठूलो हनुमान झाेँक चल्यो उहाँलाई । अनि, त्यो हनुमान नाच्नेले गर्छन् नि त्यो फलफूल भाँच्छ, के गर्छ । त्यस्तै औदान उहाँले गर्न थाल्नु भयो । र, नेकपा एमालेमा त समस्या बनाउनु भएको थियो थियो । उहाँले संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि ओलीजीको समस्या एमालेले त व्यहोरेको थियो थियो । अब मुलुकले पनि समस्या व्यहोर्न थाल्यो’, उनले भने, ‘उहाँले संसद विघटन गरिदिनु भयो । त्यो संविधान यत्रो रगत, पसिना बगाएर ल्याएको संविधान छ जनताले ७० वर्षसम्म लडेर ल्याएको । त्यसोभएपछि हामीले उहाँको विरोधमा उत्रनुपर्ने भयो । र, उहाँले संसद विघटन गरेपछि त्यो संसद विघटनको विरुद्धमा, संविधानको पक्षमा त्यस अर्थमा जनताका अधिकारहरु सारा लेखिएको संविधान संविधान भनेर त्यो कागजको खोष्टो मात्र होइन । त्यहाँ त हाम्रो देशको मात्रै नभएर दक्षिण एशियाकै राम्रो संविधान त्यस्तो संविधान माथि नै उहाँले बर्खिलाप गरेपछि अब हाम्रो अगाडि कस्तो अप्ठ्यारो भयो भन्दाखेरि यात केपीजी चुन्नुपर्ने भो वा संविधान चुन्नुपर्ने भो । अनि, हामी सडकमा निक्लनुपर्ने अवस्था आयो । केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन ग¥यौँ । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनस्र्थापित गरिदियो । संसदलाई पुनस्र्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैँले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो । अह दिनु भएन ।’