
नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको रुचीमा ६५ वर्षमा जेष्ठ नागरिक भत्ता (वृद्धा भत्ता) दिने व्यवस्था घोषणा पत्रमा ल्याइएको कांग्रेसले बताएको छ ।
कांग्रेसको चुनावी घोषणा पत्रका सम्बन्धमा विस्तृतमा जानकारी दिन आइतवार कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा घोषणा पत्र तयारी समितिका सदस्य डा. स्वर्णिम वाग्लेले सभापति देउवाको रुचीमा ६५ वर्षमा वृद्धा भत्ता दिने कार्यक्रम समावेश गरिएको बताए ।
‘शेरबहादुर देउवाको रुचीमा ६५ वर्षमा वृद्धभत्ता दिने कुरा घोषणा पत्रमा उल्लेख भएको हो । ६८ वर्षमा अहिलेको सरकारमा आएको र ६५ वर्षमा पनि उहाँकै पाँच वर्षे कार्यकालमा पुर्याउने सोच थियो’, वाग्लेले भने ।
लोक कल्याणकारी राज्यको जग बसाल्ने प्रयास गर्ने गरी कांग्रेसले घोषणा पत्र ल्याएको त्यसका लागि सामाजिक सुरक्षालाई एकीकृत गर्ने गरी ‘कोखदेखि शोकसम्म’ कार्यक्रम प्रस्ताव गरिएको वाग्लेले बताए ।
‘सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत ढंगले बुझ्नुपर्छ । राज्यले जोखिमपूर्ण समयमा राज्यले सहयोग गर्नुपर्छ भन्ने सोच हो । साधनस्रोतको मितव्ययी उपयोग कसरी गर्ने भन्ने बारेमा ध्यान दिएर घोषणा पत्रमा समावेश गरिएको छ’, वाग्लेले भने ।