
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रष्टाचार आरोपित नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नेपाली कांग्रेसका नेताहरूलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडि बढाएको उनले उल्लेख गरे ।
गच्छदारलाई मुद्दा चलाउने निर्णय प्रतिशोधपूर्ण निर्णय भएको पार्टीको ठहर रहेको उनले स्पष्ट पारे । अहिले आरोपमात्रै लागेका कारण भोलि गच्छदार निर्दोष सावित हुनसक्ने पनि उनले जिकिर गरे ।
‘नेकपाको उन्मत्त सरकार थियो त्यतिबेला । नेकपाले कांग्रेसका नेताहरूलाई छानीछानी राजनीतिक प्रतिशोध साँध्ने किसिमले केही मान्छेहरूलाई भ्रष्टाचारको मुद्दाहरू अगाडि बढाएको थियो । विजयकुमार गच्छदार त्यो बालुवाटारको काण्डमा उहाँले एउटा प्रस्ताव मात्रै लानुभएको थियो । मन्त्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने । क्याबिनेटका अरु प्रधानमन्त्रीलगायत मन्त्रीहरूलाई केही पनि नचलाउने । यो खालको प्रतिशोधपूर्ण निर्णय भएको थियो भन्ने कुरा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको ठहर पनि थियो’, सह–महामन्त्री परियारले भने, ‘उहाँलाई अहिले मुद्दा चलेको मात्रै हो । उहाँ दोषी भइसक्नुभएको छैन । भोलि सर्वोच्चले अथवा विशेष अदालतले उहाँलाई छुटकारा पनि दिनसक्छ । त्यसकारण हाम्रो पार्टीको एउटा केन्द्रिय नेता विजयकुमार गच्छदारलाई पनि हामीले टिकट दिएका छौँ । उहाँ सम्भवतः विजय भएर आउनुहुन्छ । भोलि यसको बारेमा हामी डिफेन्स गर्छौं । हाम्रो पार्टीका नेता विजयकुमार गच्छदारलाई टिकट दिएको कुरामा हामीलाई कुनै ग्लानी छैन ।’
उहाँले सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरूले टिकट नपाएको बताए । दलित नेताहरूको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उनले बताए । उनले दलित समुदायको भएकै कारण पार्टीले टिकटबाट बञ्चित नगरेको स्पष्ट पारे ।