
बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई सोमवार मेचीनगरबाट उद्धार गरिएको छ ।
भारतबाट आइतवार नेपाल पसेको करीब ८ महिनाको छावा मेचीनगरको वडा नम्बर ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो ।
वन कर्मचारी र स्थानीय वासिन्दाले छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय वन कार्यालयका कर्मचारीलाई बुझाएका छन् । उद्धारको पहलकर्ता मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार धानबारीमा डुलिरहेको अवस्थामा सोमवार दिउँसो १ बजे छावालाई उद्धार टोलीले नियन्त्रणमा लिएको थियो भने अपराह्न ४ बजेतिर भारतीय वन कार्यालयका कर्मचारीलाई जिम्मा लगाइएको थियो ।
नियन्त्रणमा लिइएको हात्तीको छावालाई मिनी ट्रकमा हालेर दशगजासम्म पुर्याइएको थियो । बथानबाट अलग्गिएको छावा विगत १२ दिनदेखि उसको बथानमा मिसाउन भारतीय वन कर्मचारीले प्रयास गरिरहेका बेला भागेर नेपाल पसेको वडाध्यक्ष कार्कीले भारतीय वन अधिकारीलाई उदृत गर्दै बताए ।
आइतवार बाहुनडाँगीमा देखापरेको छावालाई उद्धारका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय झापाको टोली समेत परिचालन भएको थियो । उद्धार कार्यका स्थानीय नुतन कार्की लगायतको टोली खटिएको थियो । जथाभावी गाउँ र बालीमा पस्ने गरेका कारण छावालाई मानिसले कुटेर मार्ने सम्भावना बढेपछि सुरक्षाका लागि उद्धार गरेर भारतीय वन कर्मचारीलाई बुझाइएको कार्कीले बताए ।