
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताए ।
अहिलेको संविधान संशोधन गरेर शासकीय स्वरूप परिमार्जन गर्ने चुनावी एजेण्डा माओवादी केन्द्रले ल्याएको छ । विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए ।
००००
नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचनासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा केपी ओलीको दक्षिणपन्थी अवसरवादले समग्र राजनीतिप्रति नै जनतामा वितृष्णा उत्पन्न भएको उल्लेख गरिएको छ ।
‘निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो’, घोषणा पत्रमा भनिएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्र्थापना, प्रदेश संरचना खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा समेटेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक गरिएको राप्रपाको घोषणा पत्रको मुख्य नारा ‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ बनाइएको छ ।
त्यसैगरी, पूर्ण समानुपातिक संसद् र हिन्दू राष्ट्रलाई राप्रपाले मुख्य चुनावी एजेण्डा बनाएको छ ।
उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने योजना पनि राप्रपाले घोषणा पत्रमा समावेश गरेको छ ।
००००
निर्वाचन आयोगले राजनीतिक दलले कुनै सभा वा कार्यक्रममा बढीमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्नसक्ने आचारसंहिताको प्रावधान स्मरण गराएको छ । सोमवार विज्ञप्ति जारी गर्दै आयोगले उक्त संख्याभन्दा बढी राष्ट्रिय झण्डाको प्रयोग आचारसंहिताविपरीत हुने स्मरण गराएको हो ।
आयोगले कात्तिक १७ गतेदेखि मात्रै राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारको काम शुरु गर्नेपर्ने पनि उल्लेख गरेको छ । कात्तिक १७ देखि मंसिर १ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारले सभा, जुलुस, विद्युतीय माध्यमबाट प्रचार प्रसारको काम गर्नसक्ने आयोगले जानकारी दिएको छ ।
००००
नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमवार सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गराएको छ ।
प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उनीविरुद्ध १२ वर्षसम्मको कैद सजाय मागदाबी भएको छ ।
००००
तिहार र छठ पर्वको लामो बिदापछि खुलेको पुँजी बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ३९ प्रतिशतले बढेर १ हजार ८७४ दशमलव ८७ प्रतिशत विन्दुमा पुगेको हो ।
००००
उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो ।
००००
यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले सोमबार अपराह्नको उडानमार्फत दिल्ली लगेको छ ।
००००
निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । शिखर ल एशोसियटसका प्रमुख अधिवक्ता अनिल आचार्यले नो नट अगेन अभियानलाई रोक लगाउने गरी निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
आयोगले नो नट अगेन अभियानको सन्दर्भमा विज्ञप्ति जारी गरी जानताको मनोबिज्ञानलाई नै त्रसित पार्ने गरी स्वतन्त्रता तथा सञ्चारको हक माथि बन्देज खोजेको रिट निवेदनमा भनिएको छ ।
००००
पुरातत्व विभागले इच्छुमती (टुकुचा) उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।
काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
००००
रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशको राजनीतिक समस्या समाधानका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनले दलीय सिण्डिकेट विरुद्ध एवं परिवर्तनका लागि उम्मेदवारी दर्ता गराएको दाबी गरे ।
जनकपुरधाममा सोमबार आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियानको बृहत कार्यकर्ता भेलामा साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताए ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन्। साथै उनले तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप तथा विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरे ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा मङ्गलबार दिउँसो उक्त घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।