०५ साउन २०८३, मंगलबार

नवौं राष्ट्रिय खेलकुदमा पदक जितेका सशस्त्र प्रहरीका खेलाडीहरूलाई सम्मान

कात्तिक १५, २०७९
नवौं राष्ट्रिय खेलकुदमा पदक जितेका सशस्त्र प्रहरीका खेलाडीहरूलाई सम्मान

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९’मा सहभागी भई विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्न सफल सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबका खेलाडीहरूलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडीहरूलाई मंगलवार सम्मान गरेका हुन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्वयम्भू हल्चोकमा आयोजित एक कार्यक्रममा खेलाडीहरूलाई सम्मान गरिएको थियाे । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले खेलाडीहरूले विभिन्न विधामा सहभागी भई हासिल गरेको पदकले खेलाडीहरुको मात्र नभई संगठनको नामसमेत उच्च बनाएको बताए । उनले आगामी दिनमा खेलाडीहरूले अझ अनुशासित, मेहनती र लगनशील भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरूले विभिन्न विधामा हासिल गरेको राष्ट्रिय कीर्तिमानको प्रशंसा गर्दै उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरूलाई संगठनको तर्फबाट आगामी दिनमा थप सेवा र सुविधा प्रदान गरिने घोषणा गरे । महानिरीक्षक अर्यालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल एपीएफ क्लबका खेलाडीलगायत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । 

गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरूमा सञ्चालन भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कुल २ सय १९ पदकसहित दोश्रो स्थान हासिल गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्