
जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बुधवारदेखि थुनछेक बहस प्रारम्भ भएको छ ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीवारका लागि राखिएको छ ।
मुद्दामा सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्दै लामिछानेले बलात्कार गरेको जिकिर गरे । बिहीवार लामिछानेका तर्फबाट बहस हुनेछ ।
सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कात्तिक १४ गते मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसूर गरेको अभियोग लगाइएको छ ।
संहिताको दफा २१९ को उपदफा (३) देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् भने पीडितले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । लामिछानेविरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको छ ।
प्रहरीले गत असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।