
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार (काठमाडौँ क्षेत्र नं ८) जीवनराम श्रेष्ठले विगतका झैँ सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकतानुसार वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् ।
आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ, वडा नं १३ मा आज वाम–लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा उनले भने, “विगतको दिनमा पनि गठबन्धन हुने गथ्र्यो तर त्यो गठबन्धन सत्ता स्वार्थको लागि हुने गथ्र्यो । यो विशेष परिस्थितिमा बनेको वाम–लोकतान्त्रिक गठबन्धन राष्ट्र तथा लोकतन्त्र रक्षा र राजनीतिक स्थिरताको लागि बनाइएको हो ।”
सरकार जोगाउनका लागि मात्र नभएर निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्छ भन्ने मान्यता र सहमतिसहित आफूहरू गठबन्धनमा गएको उल्लेख गर्दै उनले अब यो गठबन्धनलाई निर्वाचनमा पहिलो बनाउनुपर्छ भन्ने मान्यतासहित आफूहरू हामी अगाडि बढेको बताए ।