०७ असार २०८३, आइतबार

मनाङमा चुनावी सरगर्मी बढ्दै

कात्तिक १७, २०७९
मनाङमा चुनावी सरगर्मी बढ्दै

हिमाली जिल्ला मनाङमा ३ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ ।

विक्रम संंवत् २०७४ सालको निर्वाचनमा २ दलबीच प्रतिस्पर्धा भएको थियो । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । २ मुख्य दलले पुरानै अनुहारलाई जनतामाझ ल्याएको छ भने मनाङका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो ।

पार्टी नै नयाँ हुँदा मनाङवासीले साथ दिन्छन् वा दिँदैनन् भन्ने हेर्न चुनाव नै कुर्नुपर्नेछ । 

कांग्रेसका टेकबहादुर गुरुङ, एमालेका पाल्देन छोपाङ गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । अहिले चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त छन् । कांग्रेस उम्मेदवारले विगतदेखि नै मनाङलाई सडक सञ्जालसँग जोड्न जोड दिँदै आएको छ । मनाङका लागि कांग्रेस पुरानो पार्टीका रूपमा चिनिन्छ ।  

गत निर्वाचनमा मनाङमा एमाले विजयी भएको थियो । प्रदेशसभा (१) तर्फ कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, एमालेका राजन गुरुङ र राप्रपाका मिफेल धिन्दु लामा प्रतिस्पर्धामा छन् । प्रदेशसभा (२) तर्फ राजीव गुरुङ निर्विरोध भइसकेका छन् ।

गत निर्वाचनमा कूल ५ हजार ८८१ मध्ये ४ हजार ३३८ मत खसेको थियो । २८१ मतान्तरले एमाले विजयी भएको थियो । गत स्थानीय तह निर्वाचनमा मनाङका ३ पालिकामा कांग्रेस तथा एउटामा एमाले विजयी भएको थियो ।  

प्रतिनिधिसभा र प्रदेशसभामा जित निकाल्ने उद्देश्यसहित सत्ता साझेदार कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन कायम गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा मनाङमा ३ हजार २८१ पुरुष र ३ हजार ४९८ महिला गरी कूल ६ हजार ७७९ मतदाता छन् ।

कमेन्ट गर्नुहोस्