
काठमाडाैं क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कुन्तीदेवी पोख्रेलले वडा नं ८ स्थित कागेश्वरी मनोहराका मतदातासँग भेटघाट गरेकी छन् । भेटघाटका क्रममा मतदाताहरूले अन्यले यस क्षेत्रबाट चुनाव जितेर गएको तर फर्केर नआएको गुनासो गरेका छन् । एक स्थानीय मतदाताले भने, ‘यहाँ कहाँ–कहाँबाट झक्कुप्रसाद सुवेदी भोट माग्न आए, हामीले दियौँ जिते पनि तर फेरि फर्केर आएनन् । त्यसैगरी माधवकुमार नेपाल भोट माग्न आए, चुनावपछि मतदाताको पीरमर्का बुझ्न एकपटक पनि फर्केर आएनन् । अब, यो क्षेत्रमा नयाँ अनुहारले चुनाव जित्नुपर्छ ।’
भेटघाटका क्रममा पोख्रेलले आफूलाई जनताले जिताएमा यो क्षेत्रका समस्या बुझ्न समस्या समाधान गर्न तथा नियमित भेटघाटमा आइरहने र आइपरेका काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसले पनि काठमाडौं क्षेत्र नं २ मा आफ्नो लोकप्रियता बढ्दै गएको पोख्रेलले दाबी गरेकी छन् । मतदाताहरूले आफूले अपेक्षा गरेभन्दा ठूलो संख्यामा उपस्थित जनाइरहेको उनले बताइन् ।