
काठमाडौं, २५ साउन — डोक्लाममा एकैचोटि सैनिकहरू हटाउने भारतको प्रस्तावलाई लत्याउँदै चीनले कालापानी वा कश्मीरमा आफू पसेमा नयाँ दिल्लीले के गर्ला भनी प्रश्न उठाएको छ ।

विगत ५० दिनदेखि डोक्लाम पठारमा भारत र चीनका सैनिकहरू आमनेसामने छन् ।
‘उक्त क्षेत्रमा एक दिनका लागि एउटा मात्रै भारतीय सैनिक भएपनि बस्दा चीनको सम्प्रभुता र भौगोलिक अखण्डतामाथिको प्रहार ठहर्छ,’ चिनियाँ विदेशमन्त्रालयका सहनिर्देशक वाङ वेन्लीले बताइन् ।
भारतीय सञ्चारमाध्यमका प्रतिनिधिलाई ब्रिफिङ गर्दै वाङले डोक्लाम विवादमा चीनको धारणा राखिन् ।
‘अहिले भारतसँग संवाद गर्न असम्भव छ । वार्ता गर्दा हाम्रा जनताले हाम्रो सरकार अक्षम भएको ठान्नेछन्,’ वाङले भनिन्, ‘चिनियाँ भूमिबाट भारतीय पक्ष नहटेसम्म हामीबीच सार्थक वार्ता हुन सक्दैन ।’
भारतलाई चिढ्याउँदै उनले कश्मीरको मुद्दा उठाइन् अनि भारत र नेपालबीच विवादको विषय बनेको कालापानीलाई पनि सन्दर्भ बनाइन् ।
‘भारतीय पक्षले त्रिदेशीय विन्दुलाई बहाना बनाउनु ठीक छैन,’ उनले भनिन् । चीन, भारत र भुटानबीचको त्रिदेशीय विन्दु रणनीतिक रूपमा संवेदनशील ‘चल्लाको घाँटी’ मा चीनले सडक बनाउँदा यथास्थितिमा परिवर्तन आउने भारतीय विदेश मन्त्रालयको दाबीलाई उनले सन्दर्भ बनाएकी हुन् ।
‘भारतीय पक्षको पनि धेरै त्रिदेशीय विन्दु छन् । चीन, भारत र नेपालको त्रिदेशीय विन्दु कालापानी क्षेत्रमा हामीले त्यस्तै बहाना बनाएर छि–यौं भने के हुन्छ ?’ उनले सोधिन् ।
‘अनि भारत र पाकिस्तानका बीचमा रहेको कश्मीरमा हामी छि–यौं भने के हुन्छ ? त्यसैले त्रिदेशीय विन्दुको बहाना बनाउनु उपयुक्त छैन । यसले समस्या मात्र निम्त्याउँछ,’ उनले भनिन् ।
भारतसँग युद्धका लागि चीन तयार छ त भन्ने प्रश्नमा वाङले भनिन्, ‘चिनियाँ सरकार र जनमुक्ति सेनामा दृढता छ । त्यसैले भारत गलत बाटोतर्फ हिँड्छ भने वा उसमा यस घटनाका विषयमा भ्रम छ भने हामी आफ्नो अधिकार रक्षाका लागि अन्तर्राष्ट्रिय कानूनबमोजिम उपयुक्त हुने सबै काम गर्न तयार छौं ।’
एजेन्सी