
चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने बताएका छन् ।
एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा शुक्रवार सम्बोधन गर्दै उनले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि प्रस्ट पारे ।
‘पार्टीले अन्त्यमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नुहोला,’ सुनसरी क्षेत्र नम्बर १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भने, ‘समयमा काम गरभन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने अनि दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ?’
दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रविरुद्ध षड्यन्त्रस्वरूप स्वतन्त्र अभियान चलाइएको उनको भनाइ थियो । उनले स्वतन्त्र अभियानलाई दलीय व्यवस्थाविरोधी अभियानका रूपमा परिभाषित गरे ।
ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नुहुँदैन, अहिले साथीहरू कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’
ओलीले पार्टी कार्यकर्तालाई मतपेटिकाको रक्षा गर्न र मतदातालाई मतदान शिक्षा दिन निर्देशन पनि दिए । उनले एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना शुरू भएको बताए ।
एमाले–जसपा तालमेलबाट सुनसरी–१ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका राई एमालेमा हुँदा पटक–पटक मन्त्री भएको उल्लेख गर्दै ओलीले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना शुरू भएको बताए ।
उनले अशोक राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उल्लेख गरे । उनले मंसिर ४ गतेपछि बन्ने एमालेको सरकारमा अशोक राई पुनः मन्त्री बन्ने संकेत पनि गरेका छन् ।