काठमाडौं २५ साउन– वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतको कार्यालयले प्रदेश नम्बर दुईमा अमुक पार्टीलाई जिताउने र अमुक पार्टीलाई हराउने उद्देश्यले उम्मेदवार बन्न र नबन्न दवाव दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा आवाज उठाएको छ ।
व्यबस्थापिका संसदको बुधवार बसेको बैठकको विशेष समयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वीरगञ्जमा रहेको वाणिज्य दूतको कार्यालयले भियना सन्धी विपरित नेपालको राजनीतिक मामिलमा हस्तक्षेप गर्ने गरेको बताएका हुन् ।
‘वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावासलले विभिन्न व्यक्तीलाई उम्मेदवार होइनस् भनेर कार्यालयमा बोलाउने, हप्की दप्की गराउने र प्रलोभन गराउने काम गरेको छ, यसबारे सरकारलाई जानकारी छ छैन ? या यही बिषयमा वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली जाँदै हुनुहुन्छ ?’ रावलले संसदमा भने, ‘वाणिज्य दूतावासबाट निर्वाचनको सन्दर्भमा अमुक पार्टीलाई जिताउने, अमुक पार्टीलाई हराउने, अमुक उम्मेदवारलाई सहयोग गर्ने, अमुक उम्मेदवारलाई किन उठेको भन्ने जस्ता क्रियामलापा भइरहेको कुरा परराष्ट्र मन्त्रीलाई थाहा छ कि छैन, देशको सरकारलाई थाहा छ कि छैन ? यससम्बन्धमा सरकारले अविलम्ब सदनमा जानकारी गराओस् ।’
रावलले यस बिषयमा संसदमा अविलम्ब जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । ‘कुनैपनि देशको दूतले भियना कन्भेन्सन उल्लङ्घन गरेमा निजलाई कारबाही र निस्कासन गर्न सक्ने देशको सार्वभौम अधिकार हो’ रावलले भने, ‘भारतीय वाणिज्य दूतले यस्तो काम गर्दा सरकार चुप लाग्नुको कारण के हो ?’
नेपालको स्वतन्त्रता, आत्मनिर्णयको अधिकार, राज्यबीचको समानता स्वतान्त्राको रक्षा गर्न उनले भारतको ध्यानाकर्षण गराए । कुनैपनि देशको सार्वभौम संसदले संवेदनशील भएर सोच्नु पर्नेमा पनि रावलले ध्यानाकर्षण गराए ।
प्रधामनन्त्रीको भ्रमणका एजेण्डा के हुछ ?संसदको शून्य समयमा एमाले सांसद हर्कबोल राईले प्रधामनन्त्री देउवाको भारत भ्रमणको एजेण्डाबारे संसदलाई जानकारी गराउन मग गरे ।
‘विगतमा प्रधानमन्त्रीको भ्रमणका बेला भारतसँग धेरै असमान सन्धी सम्झौता भएका छन््, यसपटक पनि फेरि असमान सन्धी सम्झौता हुने त होइन ? जनता सशंकित छन् । कुन कुन एजेण्डा लिएर जाँदै हुनुहुन्छ सदनमा जानकारी गराउन माग गर्दछु’ राइले भने ।