
कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले १० कक्षामा अध्ययन गरिरहेका छन् । शुक्रवार उनी विद्यार्थीको रूपमा नभई उम्मेदवारको रूपमा प्रस्तुत भए ।
विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाबारे १० कक्षाका विद्यार्थीलाई नमूना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रूपमा प्रस्तुत भए ।
‘हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ,’ लक्ष्मणले भने, ‘निर्वाचनको मुखैमा भएको नमूना मतदानले हामीलाई निकै फाइदा गर्नेछ ।’ कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमूना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउँछन् ।
‘आउँदो निर्वाचनसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छौं । अहिले सिकेको सीप भोलि काम लाग्छ,’ पारसले भने, ‘घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमूना मतदानले दिएको छ ।’
मेरिका ढुंगानाले मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमूना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताइन् । ‘अहिले निर्वाचनको समय छ । हामीले सिकेको ज्ञान आफ्ना लागिभन्दा अभिभावक र समुदायका लागि काम लाग्नेछ,’ मेरिकाले भनिन्, ‘सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौं । जसका कारण अहिलेको निर्वाचनमा मत बदर घटाउन सहयोग पुग्छ ।’
१० कक्षाका विनोद जोशी नमूना मतदानमा मतदान अधिकृतको भूमिकामा रहे । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई निर्वाचनको महत्त्वबारे सक्षम बनाएको उनको भनाइ छ । ‘पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ,’ जोशीले भने, ‘हामीमा आमनिर्वाचनमा मतदातालाई शिक्षा दिन सक्ने क्षमताको विकास नमूना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकलाई मतदान शिक्षा दिन सक्छौं ।’