
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंसिरमा हुने निर्वाचन सफल बनाउन तीनै तहको सरकार एक भएर लाग्नुपर्ने बताएका छन् ।
पोखरामा शुक्रवार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकार एक भएर लाग्नुपर्ने बताए ।
‘आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन,’ उनले भने, ‘हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।’
संघीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘निर्वाचन एउटा प्रक्रिया मात्रै होइन । निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।’
यो ५ वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उनले बताए । ५ वर्षको संघीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उनले बताए ।
अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमती रहेको पनि उनले सुनाए । विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उनको भनाइ थियो ।