११ साउन २०८३, सोमबार
उम्मेदवारसँग एक दिन

घरदैलोमा हिँडेका विष्णु पौडेललाई एक दिन पछ्याउँदा [फाेटाे/भिडियाे]

कात्तिक २६, २०७९
घरदैलोमा हिँडेका विष्णु पौडेललाई एक दिन पछ्याउँदा [फाेटाे/भिडियाे]

शनिबार बिहान साढे ७ बजे बुटवल उपमहानगरपालिका–११ नम्बर वडामा बृद्ध महिलाहरू फुल र माला लिएर उम्मेदवारको स्वागत गर्न लामबद्ध थिए । रूपन्देही क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल तोकिएको समयमै आइपुगे । 

‘बावुले बुटवलमा राम्रो काम गर्नुभएको छ, फेरि पनि चुनाव जित्नु होला’ एक वृद्धाले फुल र माला लगाएर पौलेललाई आर्शिवाद दिइन । पौडेलले  मुस्कुराएर भने, ‘तपाईंहरूको आर्शिवादले चुनाव जितेको हुुँ, फेरि पनि विश्वास डगमगाउन दिन्न ।’

बुटवल–९ र ११ वडामा पर्ने कालिकानगरमा शनिबार बिहान पौडेलको घरदैलो अभियान थियो । प्रत्येक टोल र गल्लीका महिलाहरू फुल माला लिएर चोकमा जम्मा भएका थिए । ‘बुटवललाई यति विकसित बनाउने काम विष्णु पौडेलले गर्नुभएको हो, उहाँको कामबाट यहाँका धेरै मतदाता खुशी छन्’ मतदाता देवी ज्ञवालीले भनिन् ।

साढे ७ देखि साढे ९ बजेको समयमा पौडेलले ५० भन्दा बढी चोकमा मतदाताबाट स्वागत पाए । पौडेलको धरदैलोमा महिलाहरू नाचगान गर्दै हिडिरहेका थिए । 

२०७४ माभन्दा बढी जोस जाँगर छ

बिहानको घरदैलो कार्यक्रम सकेपछि पौडेल थकाली सेवा समाजको कार्यक्रममा सहभागि भए । मध्यान्ह बेलबासको एक पार्टी प्यालेसमा जनजाती समुदायको भेला थियो । खचाखच भरिएको सभाहलमा पौडेलले छोटो सम्बोधन गरे । ‘मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा पार्टीका साथीहरु विजय हुने निश्चित छ, २०७४ सालमाभन्दा बढी जोस जाँगर र उत्साह छ’ पौडेलले भने, ‘यो निर्वाचन क्षेत्रमा राष्ट्रियस्तरमा चर्चा हुनेगरी मतान्तर बढाउँछौं ।’ 

लोकतान्त्रिक आदिबासी जनजाती महासंघका जिल्ला अध्यक्ष पूरन गुरूङले रुपन्देही–२ मा विष्णु पौडेलको जित सुनिश्चित भएको बताए । 

जनजाती महासंघको कार्यक्रम सकेर पौडेल २ बजे सुख्खानगरस्थित एमालेको पार्टी कार्यालयमा आयोजित दुई कार्यक्रममा सहभागि भए । नेपाल खेलकुद महासंघको कार्यक्रममा पुगेर पौडेलले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा रूपन्देहीको नाम राख्नुपर्ने बताए । 

‘म तपाईंहरुको अविभावक हो, खेल क्षेत्रको विकासका लागि हामीले यहाँ धेरै काम गरेका छौं । तपार्ई कहाँको भनेर परिचय माग्दा रूपन्देहीको भन्दा सान हुने किसिमले यो ठाउँको विकास भइरहेको छ’ खेलाडीमाझ पौडेलले भने, ‘अबको कार्यकालमा बाँकी रहेका काम पूरा गर्न लाग्नेछु ।’

खेलकुद महासंघको कार्यक्रममा सम्बोधन गरेर पौडेल पार्टी कार्यालयमै नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागि भए । उत्पीडित समुदायको मुक्तिको लागि एमालेले अग्रणी भूमिका खेलेको पौडेलले बताए । ‘तपाईं कसैलाई एमाले हुँ चनेर चिनिन संकोच छ भने पनि सूर्यमा भोट हाल्नु होला, तपाईंहरूको सहयोगकै कारण, यो क्षेत्रलाई देशकै नमूना बनाउँदैछौ’ पौडेलले भने । 

बुटवलको लागि छिमेकका निर्वाचन क्षेत्रको पनि विकास गर्छाै

घरदैलो र भेलापछि अपरान्ह बुटवल उपमहानगरको सबभन्दा धेरै मतदाता भएको वडा नम्बर–११ देवीनगरमा चुनावी सभामा सहभागि हुन पुगे पौडेल । देवीनगरको सभामार्फत पौडेलले बुटवलसँगै समग्र रूपन्देहीको विकासमा भएका काम र आगामी दिनमा गर्न चाहेका कामको सविस्तार वर्णन गरे । 

‘रुपन्देही क्षेत्र नम्बर–२ लाई नेपालकै नमूना क्षेत्र बनाउने हाम्रो अभियान हो । रुपन्देहीमा हामीले दीर्घकालीन महत्वका काम शुरू गरेका छौं । शुरूगरेको कामलाई पूरा गर्ने र प्रभावकारी ढंगले अगाडि बढाउन मेरो उम्मेदवारी हो’ पौडेलले भने । 

पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पूर्णरूपमा र प्रभावकारी ढंगले संचालन गर्ने बताए । ‘सिंगो रूपन्देहीको स्वरुप फेर्ने र आसपासका जिल्लालाइए समेत फाइदा हुनेखालका आयोजना शुरू गरेका छौं’ पौडेलले भने, ‘शुरू भएका कामलाई पूर्णता दिनको लागि मेरो उम्मेदवारी हो ।’

पौडेलले निर्माणाधीन बुटवल–नारायणगढ सडक निर्माण सम्पन्न गर्ने र बुटवल चन्द्रौटा सडक निर्माणको काम अगाडि बढाउन पहल गर्ने पौडेलले बताए । ‘जीर्ण बनेको तिनाउ पुलको ठाउँमा आकर्षक सिग्नेचर पुल बनाउनको लागि बोलपत्र आह्वान भइसकेको छ । सिग्नेचर पुल बनेपछि बुटवलको सुन्दरतामा अर्को कडी थपिने छ । यात्रा गर्नेहरू तस्वीर खिच्नको लागि मात्र पनि ओर्लिनु पर्ने दिन आउँदैछ’ पौडेलले यसो भन्दै गर्दा मतदाताले ताली बजाए ।

पौडेलले तिनाउ–दानव करिडोरको काम छिट्टै सम्पन्न गर्ने बताए । ‘कतिपयले त्यहाँका स्थानीयलाई उठिबास लगाउन लागेको भनेर दुस्प्रचार गरिरहेका छन्, हामी के त्यति कृतघ्न हौला कि जसले भोट दिएर जितायो उनीरूलाई बिचल्ली पार्ने काम गरौला ? कदापी गर्दैनौं’ पौडेलले भने, ‘बरु त्यो करिडोर बनेपछि अहिले तिनाउको किनारामा रहेको बस्ती शंकरनगर जस्तै हुन्छ । विस्थापित हुनेलाई उपमहानगरपालिका भित्रकै सुविधासम्पन्न घडेरीमा सारेर, घरको क्षक्षिपूर्ति दिएर र खुसी बनाएर मात्र काम शुरू हुन्छ ।’

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रूपन्देहीका गाउँ–गाउँसम्म भएको कालोपत्रे सडकका कारण सर्वसाधारणको आर्थिक उन्नती भएकोमा खुुसी व्यक्त गरे । ‘यहाँको विकासको प्रतिफल सबैको घरमा पुगेको छ । केही वर्षअघिसम्म लाख नपर्ने जग्गा करोडभन्दा उकालो लागेको छ, यो विकासका लागि तपाईंहरु सबैलाई बधाइ छ’ पौडेलले भने । 

बुटबललाई धुलाम्मे बनाउनेलाई पानीमुनी गए पनि छाड्दैनौ 

पौडेलले ठेकेदारको कमजोरीका कारण बुटवलको गोलपार्कदेखि चौराहासम्मको सडक विस्तारको काममा विलम्ब भएकोमा दुःख व्यक्त गरे । ‘बजेट अभाव भएर होइन, ठेकेदारको गैरजिम्मेवारीपनका कारण बन्न नसकेको हो । तत्काल सडकको काम पूरा नगरे उसलाई कालो सूचीमा राखेर नयाँ ठेक्का शुरू गरेर भए पनि काम पूरा गर्छौ, पानीमुनी गए पनि काम नगर्नेलाई छाड्दैनौ’ पौडेलले भने ।

पौडेलले बुटवलको मेलम्ची भनेर चिनिने झुम्साखोला खानेपानी आयोजनाको काम सम्पन्न गरेर उपमहानगरका सबै वडामा गुणस्तरीय पानी पुर्‍याउने प्रतिबद्धता जनाए । पौडेलले रूपन्देहीको मात्र नभई देशकै ‘गेम चेन्चर’ आयोजनाकोरूपमा ‘कालीगण्डकी–तिनाउ डाइभर्सन’ सम्पन्न गरेरै छाड्ने बताए ।

पौडेलले बुटवलमा रहेको सरकारी स्वामित्वको लुम्बिनी प्रादेशिक अस्पतालाई सुविधासम्पन्न बनाउने बताए । ‘लुम्बिनी प्रादेशिक अस्पतालाई सुविधासम्पन्न बनाएर उपचारका लागि काठमाडौं या विदेश जानुपर्ने अवस्थाको अन्त्य हामी गर्छौ’, पौडेलले भने, ‘रूपन्देहीमै सरकारी स्वामित्वको मेडिकल कलेज स्थापनाको लागि तिलोत्तमामा ५० बिगाह जमिन लिने काम भइसकेको छ । त्यसलाई पनि नमुना मेडिकल कलेज बनाउने योजना छ ।’ 

पौडेलले रूपन्देहीमा भइरहेको विकासले सबै ठाउँ सुगम भइरहेको बताए । ‘केही वर्ष अघिसम्म तिनाउ पश्चिमको ठाउँ दुर्गम जस्तो थियो । तिनाउ पारी भनिन्थ्यो । अहिले के वारी के पारि ? जताततै समान विकास भएको छ’ उनले भने ।

प्रतिनिधि सभामा रुपन्देही–२ का उम्मेदवार पौडेललाई राप्रपा र जसपाको समर्थन छ । प्रदेश सभामा लीला गिरी र भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।

भिडियाेमा हेर्नुहाेस् विष्णु पाैडेलकाे घरदैलाे
 

थप तस्वीरमा हेर्नुहाेस् विष्णु पाैडेलकाे चुनावी घरदैलाे अभियान

salt training

कमेन्ट गर्नुहोस्