
पशुपतिनाथ मन्दिरको पश्चिमपट्टि आर्यघाटबाट सूर्यघाटसम्मको बागमती नदी किनारमा सफाइ गरी नकुहिने ३ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।
बागमती सफाइ महाअभियानको ४९६औं हप्तामा शनिवार पशुपति क्षेत्रमा सफाइ गरिएको हो ।
छठअघिको शनिवारदेखि निरन्तर पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । निरन्तर ३ हप्ताको सफाइपछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर निकाली विश्वसम्पदा क्षेत्रलाई सफा बनाइएको छ ।
सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका दीपक सुवेदीको नेतृत्वमा १५० जना कर्मचारी, सामाजिक अभियानकर्मी, बागमती सफाइ अभियानकर्मीको सहभागिता थियो ।
सफाइमा सफाइ अभियानकर्मीहरू डा. माला खरेल, गोविन्द काफ्ले, रामशरण कार्की, खगेन्द्र कार्की, प्रिया लामिछाने, दुर्गा रावल, केशव पुडासैनी, अनिता कटुबाल, गंगा पुरीको सक्रिय सहभागिता थियो । सो अवसरमा स्थानीय एवं काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, तिलगंगा महिला समूहको पनि संस्थागत सहभागिता रहेको अभियानकर्मी शाहीले जानकारी दिए ।
राष्ट्रका लागि हप्ताको २ घण्टा स्वयंसेवा भन्ने नाराका साथ विक्रम संवत् २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान शुरू भएको हो । त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान २ घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीय र जनप्रतिनिधिको पनि सहभागिता जुट्ने गरेको छ ।
जाडो, गर्मी, वर्षा, चाडपर्व लगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदा स्थल, चक्रपथ लगायत स्थानमा पनि सफाइ अभियान शुरू भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।