
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेसन र प्रसारण लाइन निर्माण शुरू भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेसन निर्माण थालेको हो ।
सबस्टेसन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण शुरू भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका छन् । विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले दुवै ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सवस्टेसनका उपकरण राख्ने ठाउँ बनाउन शुरू भएको र प्रसारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको जानकारी दिए ।
सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेसन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ ।
ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तीव्रता दिएको जनाएको छ । २५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् । टावर निर्माण हुने जग्गाको पहिचान र नाचजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम भइरहेको छ ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १० मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गरिने भएको छ ।
२२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेसन जीआईएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए । एसियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न लागिएको हो । डाँडाखेतमा सबस्टेसन बनाउन ५ वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करीब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ ।
दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवन समेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको ४ वटा जलविद्युत् आयोजना निर्माण शुरू भएका छन् ।