
कर्णाली प्रदेश सरकारले भवन संहिता विना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएकोे जनाएको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भने, ‘कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ । यसमा मन्त्रालयको ध्यान गएको छ ।’
कात्तिक २२ गते मध्यराति २ः१२ बजे खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ डोटीको ठाडागाउँका ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते र ८ घर ध्वस्त भएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार कर्णालीमा ३ लाख ७१ हजार १२५ घर परिवार संख्या छ भने सुदूरपश्चिममा ५ लाख ८७ हजार ५४ घर परिवार संख्या छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिमको जनसंख्या २७ लाख ११ हजार २७० छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् महाशाखाका प्रमुख कृष्णबहादुर रोकायाले भने, ‘सरकारी, सामुदायिक निकाय निजी क्षेत्र तथा अन्य सरोकारवाला विपद् पूर्व तयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्नु जरुरी छ ।’
मन्त्रालयका सचिव दिनेशसागर भुसालले भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न सबैले साझा दायित्व पूरा गर्नुपर्ने बताए । ‘भूकम्पीय जोखिमबाट बच्न पूर्व तयारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारालाई मूलमन्त्र बनाएर अगाडि बढ्न र यस अभियानमा सहयोग पुर्याउन पनि उनले सरोकारवालालाई आग्रह गरेका छन् ।