
प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ ।
केन्द्रीय बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ३ महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार विद्युतीय भुक्तानीमा वृद्धि भएको पाइएको हो ।
गत आर्थिक वर्षको तुलनामा चालू आवको पहिलो ३ महिनामा विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ । यस्तो कारोबारमा एटीएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोड लगायतको प्रयोग बढेको छ ।
सार्वजनिक तथ्यांकअनुसार गत आवमा क्विक रेस्पोन्स (क्युआर) कोडमा आधारित भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । गत आवको पहिलो ३ महिनामा क्युआर कोडको प्रयोग गरी ६ अर्ब ९ करोड ७० लाखको कारोबार भएकोमा चालू आवको समीक्षा अवधिमा यसको प्रयोग गरी १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
चालू आवको असोज मसान्तसम्म प्रिपेड कार्डको मध्यमबाट ४३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यस्तो कार्डको प्रयोगबाट अघिल्लो आवको सोही अवधिमा १५ करोड ३० लाखको कारोबार भएको थियो ।
केन्द्रीय बैंकका अनुसार कारोबारमा मोबाइल बैंकिङको प्रयोग गत आवको तुलनामा बढेको छ । गत आवको असोज मसान्तसम्म मोबाइल बैंकिङको प्रयोग गरी ८७ अर्ब ७३ करोड २० लाख बराबरको कारोबार भएकामा चालू आवको सोही अवधिमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख पुगेको छ ।