
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिइन् ।
ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस्तै, प्रशासन कार्यालय काठमाडौंले बुधवार पनि एक विज्ञप्तिमार्फत यही मंसिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ ।
प्रशासनले आज र शुक्रवारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ ।