
काठमाडौं, २६ साउन – नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन पटक–पटक सारिएपछि संगठन भित्र तीब्र असन्तुष्टि देखिएको छ ।
कांग्रेस निकटका दुई कर्मचारी संघ नेपाल निजामती कर्मचारी युनियन र कर्मचारी संघको एकीकरण गर्दा महाधिवेशन गर्ने निर्णय भएपनि सो निर्णय कार्यान्वयन हुन नसकेको हो । २०७० को वैशाखमा युनियनको चुनाव भएको थियो । ०७१ सालमाा युनियन र संघ मिलेका थिए ।
एकीकरणपछि तुरुन्तै चुनाव गर्ने निर्णय भएको थियो । तर यसअघि पाँच पटकसम्म युनियनको महाधिवेशनको मिति तोकिए पनि पटक पटक सरेको युनियनका नेताहरुले बताएका छन् । युनियनका अध्यक्ष सुवोध देवकोटाले समयमा चुनाव गर्न नसकेको नेताहरुको आरोप रहेको छ ।
पछिल्लो पटक युनियनको महाधिवेशन मिति २०७२ सालको फागुनमा तोकिएको थियो । तर ७३ को जेठमा आधिकारीक ट्रेड युनियनको चुनाव हुने भएपछि युनियनको चुनाव रोकिएको थियो ।
अहिले माउ पार्टी नेपाली कांग्रेसले पनि हाललाई चुनाव रोक्न अप्रत्यक्ष निर्देशन दिएको बुझिएको छ । स्थानीय निर्वाचन नसकिँदा सम्म युनियनको चुनाव नगर्न कांग्रेसले निर्देशन दिएको युनियनका नेताहरुले बताए ।
केन्द्रीय समितिको नेतृत्वले चुनाव नगर्ने चलखेल गरिरहेकोे युनियनका नेता शरद अधिकारीले बताए । युनियनको महाधिवेशनमा अध्यक्षका प्रत्यासी समेत रहेका अधिकारीले केन्द्रीय समिति विधान तथा निर्णय अनुसार चल्न नसकेको आरोप लगाए ।
‘पार्टीले भनेको कुरा मान्ने वा नमान्ने अधिकार केन्द्रीय समितिलाई छ,’ उनले लोकान्तरसँग भने, ‘तर महाधिवेशन यथासक्य चाँडो हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनका अनुसार निर्वाचन आचार संहिता सकिएको १५ दिनभित्र महाधिवेशन गर्ने गरि केन्द्रीय समितिमा निर्णय भएपनि सो कार्यान्वयन हुन सकेको छैन ।
माउ पार्टी कांग्रेसले युनियनको महाधिवेशनको विषयमा अनावस्यक निर्देशन दिएर हस्तक्षेप गरेको समेत उनले अरोप लगाए । युनियनमा महाधिवेशन मिति तोक्न अध्यक्ष देवकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति बनेको छ ।
युनियनको महाधिवेशनमा अध्यक्ष पदका अर्का प्रत्यसी गोपाल पोख्रेलले विभिन्न आन्तरिक कारणहरुले समयमा चुनाव हुन नसकेको बताए । तर समयमै चुनाव गर्नको लागि आफूहरुले नेतृत्वलाई निरन्तर दवाव दिएको बताए ।
‘आधिकारीक चुनाव हुनुभन्दा अगाडि नै युनियनको चुनाव भएको भए युनियनले आधिकारीकमा राम्रो नतिजा ल्याउँथ्यो होला,’ उनले लोकान्तरसँग भने, ‘तर अब चाहिँ चुनाव हुनेमा हामीहरु आशावादी छौं ।’ उनले कर्मचारी युनियन र कर्मचारी संघको एकीकरण पछि हाल सम्म पनि महाधिवेशन हुन नसक्नु दुखःद रहेको समेत बताए ।
युनियनका अध्यक्ष देवकोटाले एकिकरण पछि तुरुन्त महाधिवेशन गर्ने निर्णय भएको भएपनि सो निर्णय कार्यान्वयन हुन नसकेको स्वीकारे । ‘महाधिवेशन भएको ३ वर्ष पुगेर भर्खरै ४ वर्षमा लाग्दैछ,’ उनले भने, ‘समयमा चुनाव हुन सकेन भन्ने कुरा गलत हो, तर एकिकरणपछि तुरुन्त चुनाव गर्ने सहमति भएको थियो त्यो चाहिँ विभिन्न कारणले हुन सकेन ।’
उनले आधिकारीकको चुनावले गर्दा युनियनको चुनाव गर्न नसकिएको बताए । अब दुई नम्बर प्रदेशको चुनाव हुने वित्तिकै महाधिवेशन हुने उनले बताए ।
समयमा चुनाव नभएको र युनियन भित्र असन्तुष्टि चुलिएको भन्ने कुरा गलत भएको समेत देवकोटाले बताए । ‘केही दिन अघि मात्रै केन्द्रीय समितिको म्याद विधान अनुसार एक वर्षको लागि थपिएको छ,’ उनले लोकान्तरसँग भने, ‘त्यो ठाउँमा विरोध गर्ने साथीहरुपनि त हुनुहुन्छ । तर निर्णय त सर्वसहमतिमै भएको थियो ।’