०१ असार २०८३, सोमबार

अष्ट्रेलियामा दोहोरो नागरिकता सङ्कट : सांसददेखि मन्त्रीसम्मको रुवावासी

कात्तिक २०, २०७४
अष्ट्रेलियामा दोहोरो नागरिकता सङ्कट : सांसददेखि मन्त्रीसम्मको रुवावासी

सिड्नी, २६ साउन – पहिले अष्ट्रेलियाको संसद्को माथिल्लो सदन ‘सिनेट’का दुइजना सदस्यले आ–आफ्नो पदबाट राजीनामा दिए । कारण थियो ती दुईमध्ये एकको न्यूजिल्याण्डको नागरिकता कायम रहेछ भने अर्कीको क्यानाडाली नागरिकताको पृष्ठभूमि रहेछ ।

त्यसपछि तेस्रो संसद् – सदस्यको पद छोड्ने पालो आयो र उनले प्रधानमन्त्री म्याल्कम टर्नबुलको मन्त्रिपरिषदबाट मन्त्री पद नै त्याग्नु प-याे। हुनत उनी कहिल्यै इटाली गएका थिएनन्, तर उनकी आमाले उनको लागि इटालीको नागरिकता लिइदिराखेकी रहिछिन् । जुलाई महिनाका पछिल्ला दुई साता कतिपय अष्ट्रेलियाली राजनीतिज्ञहरू आ–आफ्नो नागरिकता दोहोरो (दुई देशको) त परेको छैन भन्ने कुरो पत्तो लगाउने काममा व्यस्त रहे । एकाएक ११६ वर्ष अघि जारी भएको संविधानको धारा ४४ चर्चामा आयो जसले अर्को कुनै देशको नागरिक रहेको व्यक्तिलाई संसद–सदस्यको निर्वाचनमा उम्मेदवार हुन दिँदैन ।

आप्रवासीहरूको मुलुक भनेर चिनिने अष्ट्रेलियामा दोहोरो नागरिकता विवाद वा कानूनी जटिलताको विषय नहुनु पर्ने हो । तर हुँदैछ । संघीय संसद्का २५ जना सदस्यहरुको जन्म समुद्रपारका देशमा भएको रहेछ, तसर्थ उनीहरू आफूलाई क–कसले ‘नागरिक’मा दर्ता गरेका रहेछन् त्यो पत्ता लगाउँदै छन् ।

‘दाेहोरो नागरिकता संकट’को क्रममा जनस्तरबाट घृणाभावको पात्र हुन पुगेका कतिपय राजनीतिज्ञ भ्रमणभत्ता सम्बन्धी विवाद र सम्पत्ति घोषणाको क्रममा देखापरेका असंगतिको सम्बन्धमा पनि चर्चामा आएका थिए ।
चर्चाको विषय फराकिलो हुँदै जाँदा प्रश्न उठेको छ : अब मतदाताहरूले आफूले चुनेर पठाएका सदस्यहरूले आफ्नो हित हेरिदेलान् र आफ्नो देशको हित प्रवर्धन गरिदेलान् भनेर कसरी पत्याउनु ? भन्न थालेका छन् ।

नागरिकताको यस ताजा विवादमा राजनीतिक दल पनि तानिएका छन् । संसद—सदस्य हुनेहरु त अप्ठेरोमा पर्ने नै भए । संसद्बाट खाए पाएको तलबभत्ता बापतको मोटो रकम अब कसरी मिलान गर्ने ?

नागरिकता काण्डले विशेष गरेर वातावरणवादी दल ‘ग्रीन्स’लाई हल्लाएको छ । १४ जुलाईमा त्यस पार्टीका सह उप नेता स्कट लुड्लामले अचानक संसद–सदस्य पदबाट राजिनामा दिए । न्यूजील्याण्डमा जन्मेका रहेछन् तर तीन वर्षको उमेरमा बाबु–आमाले अष्ट्रेलिया ल्याएछन् ।

र, यतिञ्जेल उनको उताको नागरिकता कायमै छ भनेर कसैले कुरो उठाएको रहेनछ ।  हालै आएर ‘वेष्ट अष्ट्रेलिया’ राज्यको प्रतिनिधित्व गर्ने यी सिनेटरको नागरिकतबारे प्रतिद्वन्द्वी खेमाका एक वकिलले लुड्लामको योग्यताबारे अदालतमा प्रश्न उठाउने चुनौती दिए ।


लुड्लामको प्रसंगले ग्रीन्स पार्टीकै अर्का उप सह–नेता (नेतृ) लारिस्सा वाटर्सको नागरिकता विवादमा आयो । केही समयअघि संसदमै बच्चालाई स्तनपान गराउने 'साहसिक' महिला कहलिएकी वाटर्सले नागरिकताको प्रश्न उठेपछि रुँदै राजिनामा गरिन् । किनभने उनले यतिञ्जेल पनि क्यानडाको नागरिकता छाेडेकी रहिनछिन् ।

वाटर्सका बाबु–आमा अष्ट्रेलियाकै नागरिक थिए । तर उनको जन्म क्यानडामा भएको थियो । बच्चा छँदै बाबु–आमाले उनलाई अष्ट्रेलिया ल्याए । अनि बालिग भएपछि लुड्लामलेझैं उनी अष्ट्रेलियाली नागरिक भइन् । त्यसो भएपछि उनको क्यानडाली नागरिकता स्वतः खारेज भयो होला भन्ने अनुमान गरिन् । तर यथार्थ त्यो रहेनछ ।

यसरी ग्रीन्स पार्टी नागरिकता काण्डले अस्तव्यस्त रहेको केही दिनभित्रैमा नेसनल पार्टीका सिनेटर म्याट क्यानाभेन चर्चामा आए । यी त प्रधानमन्त्री म्याल्कम टर्नबुलको मन्त्रिपरिषदमा स्रोत साधन र उत्तरी अष्ट्रेलिया मामीला हेर्ने मन्त्री नै थिए । नागरिकता विवाद सतहमा आउनासाथ राजीनामा दिए ।

म्याट क्यानाभेन र उनकी आमा मारिया क्यानाभेन अष्ट्रेलियामै जन्मेका हुन् । तर आमाका बावुआमा चाहिँ इटालीका रहेछन् । त्यसको आधारमा म्याटकी आमाले सन् २००६ मा आफू र आफ्ना तीन सन्तानलाई इटालीको नागरिकता पाउने गरी नाम दर्ता गराइछिन् । तर त्यस बखत २५ वर्षीय छोरा म्याटलाई यसको जानकारी दिइनछिन् ।

म्याट क्यानाभेनले मन्त्रिपरिषद् छोडे तापनि संसद्–सदस्यता छोडेका छैनन् । सरकार भन्छ : उनको तर्फबाट आमाले इटालीको नागरिकता लिएको जानकारी उनलाई नभएकोले म्याटले संविधान उल्लंघन गरेका छैनन् । जे होस्, अब उनको सदस्यताको टुंगो अदालतले लगाउने भएकाे छ ।

यसैबीच, तास्मानिया राज्यकी संसद् सदस्य (लेबर पार्टी) जस्टिन की बेलायतकी नागरिक रहेको तर पोहोर सालको निर्वाचन अगावै ब्रिटिश नागरिकता त्यागेको बताएकी छिन् ।

आलोचकहरू भने चुनावमा उम्मेदवार हुनु अगावै बेलायतको नागरिकता त्यागेको प्रमाण देखाइयोस् भनेर माग गर्दैछन् । यसैबीच, क्वीन्सल्याण्ड राज्यका सिनेटर म्याल्कम रबर्टसले (दक्षिणपन्थी 'वन् नेसन' पार्टी) नागरिकताको प्रश्नलाई आफ्नै कारणले संवेदनशील बनाइदिएका छन् । किनभने उनले बेलायतको नागरिकता त्यागेको सार्वजनिक जानकारी उनी गतवर्षको निर्वाचनमा विजयी भएको खबर आएपनि मात्र बेलायतबाट भएको थियो ।

निर्वाचित पदमा पुगेकामध्ये अहिले सम्ममा २३ जनाले आफ्नो जन्म विदेश (१४ देशमध्येको कुनै)मा भएको भए तापनि त्यताको नागरिकता छोडेर अष्ट्रेलियाको नागरिकता मात्र कायम राखेका छन् ।

अर्थात् विदेशी नागरिकता त्यागेको प्रमाण सार्वजनिक गरिसकेको छन् । पूर्व प्रधानमन्त्री टोनी एबटले १२ अक्टोवर १९९३ मै ब्रिटिश नागरिकता त्यागेको पुष्टि हुने पत्र सार्वजनिक गरेका छन् ।लेबर पार्टीका सिनेटर साम दस्तयारीले इरानी नागरिकता छोड्दा लागेको दस्तुर वापतकाे २५ हजार अष्ट्रेलियाली डलरको भर्पाई नै जनसमक्ष प्रस्तुत गरिसकेका छन् ।

अष्ट्रेलियाको संविधानको नागरिकता सम्बन्धी धाराको अदालती व्याख्या अनुसार दोहोरो नागरिकता कायम राख्ने व्यक्तिले निर्वाचित पदकाे लागि उम्मेदवारी दिन मिल्दैन ।

यस प्रावधानले अहिलेक चर्चित तीन ‘निर्दोष’ व्यक्तिलाई असर पारेको छ तापनि यत्तिकै आधारमा संविधानको संशोधन भई त्यो व्यवस्था तत्काल खारेज हुने सम्भावना भने देखिँदैन ।

– बीबीसीबाट 

salt training

कमेन्ट गर्नुहोस्