०१ साउन २०८३, शुक्रबार

काठमाडौंका १० निर्वाचन क्षेत्रमा को अगाडि ?

काठमाडौंका १० निर्वाचन क्षेत्रमा को अगाडि ?
फाइल फोटो

संघीय राजधानी काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ ।

काठमाडौंका विभिन्न १० स्थानमा सोमवार बिहानदेखि शुरू भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ । 

सोमवार दिउँसोदेखि शुरू भएको काठमाडौंको १ नम्बर क्षेत्रको मतगणना सकिएको छ । यहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

सिंह ७ हजार १४० मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
    
काठमाडौंका बाँकी ९ वटा निर्वाचन क्षेत्रमा भने मतगणना अहिले पनि जारी छ । राति २ बजेसम्मको मतगणनामा काठमाडौंको २ नम्बर क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा छिन् । उनले २ हजार ८९१ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ओनसरी घर्तीले १ हजार २८८ मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल १ हजार ११९ मतसहित तेस्रो स्थानमा छिन् । एमालेका मणिराम फुयालले भने हालसम्म १ हजार ९८ मत प्राप्त गरेका छन् ।
    
काठमाडौंको ३ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे ४ हजार ५०० मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका कृष्णबहादुर राईले ३ हजार २१३ मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका रास्वपाका दुर्गाविक्रम थापा क्षेत्रीले १ हजार ६१७ मत प्राप्त गरेका छन् ।
    
काठमाडौंको ४ नम्बर क्षेत्रमा कांग्रेसका गगनकुमार थापाले ११ हजार ९८८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमालेका डा. राजन भट्टराईले ९ हजार २७७ मत ल्याएका छन् । राप्रपाका ठाकुरमोहन श्रेष्ठको १ हजार ४३९ मत छ ।
    
काठमाडौंको ५ नम्बर क्षेत्रमा कांग्रेसका प्रदीप पौडेल २ हजार ५९१ मतसहित अग्रस्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले १ हजार ६९८ मत प्राप्त गरेका छन् ।
    
काठमाडौंको ६ नम्बर क्षेत्रमा रास्वपाका शिशिर खनाल २ हजार ७९ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका भीमसेनदास प्रधान १ हजार ४१२ मत प्राप्त गरी दोस्रोमा छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १ हजार ४१ मतसहित तेस्रो स्थानमा छन् ।
    
काठमाडौंको ७ नम्बर क्षेत्रमा एमालेका श्यामकुमार घिमिरेले प्रतिस्पर्धीलाई पछाडि पार्दै १ हजार ३५८ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार गणेश पराजुली १ हजार ६५ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका अस्मिता सिंह (मानुषी) यमी भट्टराईले ९६३ मत प्राप्त गरेकी छन् ।

काठमाडौंको ८ नम्बर क्षेत्रमा रास्वपाका विराजभक्त श्रेष्ठले ३ हजार ७७० मत प्राप्त गर्दै अग्रता लिएका छन् । हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार ३१० मत प्राप्त गरेका छन् । एमालेका शिवसुन्दर राजवैद्यले १ हजार ५८७ मत प्राप्त गरेका छन् ।
    
९ नम्बर क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ ५ हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले ५ हजार १४५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले ३ हजार १३७ मत प्राप्त गरेका छन् ।
    
१० नम्बर क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले २ हजार ४१८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार प्रदीप विष्टले १ हजार ८७८ मत ल्याएका छन् । एमालेका हिमेश केसीले १ हजार ३०० मत प्राप्त गरेका छन् । – सिबी अधिकारी/सुशील दर्नाल/रासस

salt training

कमेन्ट गर्नुहोस्