
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरूसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताए ।
नेता सिंहले मतदाताको भनाइ र मागहरूलाई सम्बोधन गर्ने बताए । उनले आम मतदाताहरूका लागि जनप्रतिनिधिहरूसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनासो सुन्ने काममा आफू निरन्तर लाग्ने बताएका छन् । उनले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताए । उनले काठमाडौंका नदीहरू बागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताए ।
‘मलाई चौैथो पटक काठमाडौं १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरूलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरूका लागि जनप्रतिनिधिहरूसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काम गर्नेछु । खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौंका नदीहरू वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । वागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ’, नेता सिंहले भने ।
नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताएका छन् । उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताए । उनले देशभरबाट जितेर आएका कांग्रेस नेताहरूसँग सल्लाह लिएर आफू अघि बढ्ने बताए ।
‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि प्रतिष्पर्धा गरेकै हो । देशभरबाट कांग्रेसको सांसद जितेर आएकाहरूको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रोसेस जान्छ । विधि र प्रोसेसमा गइसकेपछि सबै साथीहरूसँग सल्लाह गरेर गर्ने कुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन’, सिंहले भने ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सफल भए ।