
काठमाडौं ४ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा जुट्ने बताएका छन् । चुनावअघि नै गगनले प्रधानमन्त्रीका लागि प्रयास गर्ने बताएका थिए ।
विजयी भएपछि मतगणनास्थलमा संक्षिप्त सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय दलको नेताको लागि आजैबाट गृहकार्य थाल्ने बताएका हुन् । ‘काठमाडौंका मतदाताले जुन स्नेहका साथ मलाई विजयी बनाउनुभयो त्यसका लागि आभारी छु । संसदीय दलको निर्वाचनको लागि तयारीमा जुट्छु, सबैको स्नेह र माया रहन्छ भन्ने विश्वास छ’, गगनले भने ।
महामन्त्री थापाले निर्वाचित भएर आउने सांसदलाई जनताको मत र मनको कदर गर्न आग्रह गरे । ‘मतदाताले मतमात्र दिएका छैनन्, मनको कुरालाई पनि सम्मान गर्नुपर्छ । नेपाली कांग्रेसको तर्फबाट देशलाई हाँक्ने चिन्तनसहित आउनु होला’, थापाले भने । गगनले चुनाव जितेको क्षणबाटै बाँचा पूरा गर्न लाग्ने बताए ।
नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय मतान्तरले पराजित गर्दै गगन काठमाडौं ४ बाट तेस्रो पटक विजयी भएका थिए ।