वासिङटन डिसी, २७ साउन– संयुक्त राष्ट्रसङ्घको २०औँ युवा सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा नेपालको एक प्रतिनिधीमण्डलले सहभागिता जनाएको छ ।
राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित उक्त सम्मेलनमा सहस्राब्दी विकास लक्ष्यका बहुपक्षीय विषयमा छलफल भएको महरले जानकारी दिए ‘हामीहरुले नेपालका तर्फवाट सहस्राब्दी विकास लक्ष्यमा युवाको सहभागिताको विषयमा समूहगत छलफलमा भाग लिएका छौँ,’ महराले भने ।
विश्वका १०४ देशका युवाको सहभागिता रहेको सम्मेलनमा गरिबी निवारण, शिक्षामा युवाको पहुँच, संस्थागत सुशासन लगायतका विषयमा छलफल हुने र त्यसमा नेपालका तर्फवाट पनि आफ्नो धारणा राखिने कार्यक्रम रहेको नेवि सङ्घका महामन्त्री सरोज थापाले जानकारी दिए । सम्मेलन बुधबार शुरु भएर चार दिनसम्म चल्नेछ ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिं महरको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा महामन्त्री सरोज थापा र नेवि सङ्घका वैदेशिक विभागका सल्लाहकार डिवी सुनारले उक्त सम्मेलनमा भाग लिएका छन् ।