२४ जेठ २०८३, आइतबार

विराटनगरमा फूटपाथ खाली र टहरा भत्काउने अभियान शुरू

मंसिर १०, २०७९
विराटनगरमा फूटपाथ खाली र टहरा भत्काउने अभियान शुरू

विराटनगर महानगरपालिकाले फूटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुक्रवारदेखि शुरू गरेको छ ।
 
विराटनगरको सौन्दर्यकरण वृद्धि र सर्वसाधारणलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फूटपाथ नियन्त्रण गर्न महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएको छ । 

अभियान विराटनगरको मेनरोडबाट शुरू गरिएको छ । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फूटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । व्यापारीले फूटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन शुरू गरेको हो । 

पसलको सटरभन्दा बाहिर सामग्री नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका सामान, टेलिभिजन, फ्रीज, माला, प्लास्टिकका कुर्सी लगायतका सामान हटाइएको छ । 

अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ ।

‘विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,’ प्रमुख नागेश कोइरालाले भने, ‘हामीले २–२ पटक सार्वजनिक रूपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीको पनि कर्तव्य हो । उहाँहरूलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।’
 
यात्रुलाई हिँड्न सहज होस् र बजारको सौन्दर्य वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन शुरू गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्