ढाका (बङ्गलादेश), २७ साउन - बङ्गलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको एक भवनमा शुक्रबार भयानक आगलागी भएको अग्नी नियन्त्रण अधिकारीले जनाएका छन् ।
विमानस्थलको मुख्य भवनको दोस्रो तलाबाट दिउसो १ः३७ बजे आगलागी शुरु भएको अग्नी नियन्त्रण कक्षका कर्मचारीले सिन्ह्वा न्यूज एजेन्सीलाई बताए ।
आगलागीबारे समाचार दिने अख्तियारप्राप्त व्यक्ति नभएको जनाउदै आफ्नो नाम गोप्य राख्ने शर्तमा उनले आगलागी नियन्त्रण गर्न १० अग्नी नियन्त्रण एकाईबाट खटिएका अधिकारीले अनवरत काम गरिरहेका छन् । आगलागी समाचार तयार पार्ने समय शुक्रबार अपरान्ह्सम्म नियन्त्रणमा ल्याउन सकिएको छैन ।
आगलागीका कारण भवन वरपर रहेका सयौँ यात्रुहरू, विमानस्थलका कर्मचारी लगायतलाई विमानस्थलबाट सुरक्षितस्थलतर्फ सारिएको छ । घटनामा कसैको पनि मृत्यु भएको छैन । आगलागीमा कोही घाइते भएको सूचनासमेत पाप्त भएको छैन ।
आगलागी हुनुको कारण तत्काल पत्ता नलागेको बताइएको छ । घटनाबाट भएको क्षतिको बिस्तृत विवरण प्राप्त हुन सकेको छैन ।