
विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम शुरू भएको छ ।
आगलागी हुँदा नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिइने महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए ।
तालिममा महानगर प्रहरी र बारुणयन्त्रका २० जना कर्मचारी सहभागी छन् । उनीहरूलाई काठमाडौं महानगरपालिका नगर प्रहरीका निरीक्षक एवं बारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिनेछन् ।
तालिममा आगलागी भएको स्थानमा जाँदा र आगलागी नियन्त्रण गर्दा अपनाउनुपर्ने सावधानी लगायत सैद्धान्तिक र व्यावहारिक रूपमै जानकारी गराइनेछ ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कानूनले नै स्थानीय सरकारलाई नगर प्रहरी राख्ने अधिकार दिएको बताए । उनले प्रमुखलाई दिएको २२ वटा अधिकारमध्ये नगर प्रहरी पहिलो नम्बरमा रहेको जानकारी दिए ।