
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट ६ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभातर्फको दुई पदमध्ये एक/एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई/दुई पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार ५४८ मत ल्याएर विजय भए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेका निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।
उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार १६९ मत ल्याएर विजय भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार ३५० मत आएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश–२ तर्फ कांग्रेसका उम्मेदवार रमेशकुमार महत १३ हजार ७२७ मत ल्याएर निर्वाचित भए ।
निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २८ हजार १०७ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी भन्दा केसीको ११ हजार ६२० मत बढी छ ।
उक्त निर्वाचन क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गाना १२ हजार ११० मत ल्याएर विजयी भए । नुवाकोट–२ को प्रदेश–२ मा १७ हजार २४९ मत ल्याएर कांग्रेसका उम्मेदवार बहादुर सिंह लामा (तामाङ) विजयी भएका छन् ।