२४ जेठ २०८३, आइतबार
सहकार्यलाई निरन्तरता दिने पहल

गठबन्धन झिनो बहुमततर्फ अग्रसर भइरहेका बेला देउवा र प्रचण्डको भेट, के भयो कुराकानी ?

मंसिर १०, २०७९
गठबन्धन झिनो बहुमततर्फ अग्रसर भइरहेका बेला देउवा र प्रचण्डको भेट, के भयो कुराकानी ?
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । 

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेका बेला बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

दुई नेताबीच निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । प्रचण्डले पनि सकारात्मक जवाफ दिएको स्रोतको दाबी छ ।

प्रतिनिधिसभा निर्वाचनको नतिजामा सत्ता गठबन्धन झिनो बहुमततर्फ अघि बढिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

शनिवार दिउँसो २ बजेसम्ममा कांग्रेसले ५० सीटमा जीत हात पारिसकेको छ भने ६ सीटमा अग्रता कायम गरेको छ । माओवादीले १६ सीट जितेर २ वटामा अग्रता लिएको छ । गठबन्धनका अन्य सहयात्री नेकपा एसले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सीट जितेका छन् । बाँकी ३ सीटमा मतगणना नै भएको छैन ।

समानुपातिकतर्फ हालसम्मको मत ट्रेन्ड हेर्दा कांग्रेसले कम्तीमा ३२ सीट पाउने देखिन्छ । माओवादीको भागमा १५ सीटसम्म पर्न सक्ने देखिन्छ । नेकपा एसले भने थ्रेसहोल्ड कटाउने कि नकटाउने भन्ने यकिन भएको छैन ।

यही स्थिति कायम रहे गणना हुन बाँकी ३ क्षेत्र छाड्दा पनि कांग्रेसले ८८ को हाराहारीमा सीट जित्ने अवस्था छ ।

माओवादीको ३३ (सम्भावित), नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सीट जोड्दा १३६ पुग्छ । बहुतका लागि १३८ सीट चाहिन्छ ।

गठबन्धनले नै चुनावमा सघाएका प्रभु साह र उनकै समूहका किरण साह पनि गठबन्धनमा सहभागी हुनसक्ने सम्भावित पात्र हुन् । कांग्रेसका एक बागीले पनि चुनाव जितेका छन् ।

बाँकी रहेका ३ क्षेत्रको नतिजा आइसक्दा गठबन्धनलाई बहुमतका लागि अझै सहज हुन सक्छ ।

बहुमत पुगेको खण्डमा वर्तमान गठबन्धन नै कायमै राखेर अगाडि बढ्ने सम्भावना प्रबल रहेको कांग्रेस र माओवादीका नेताहरू बताउँछन् ।

चुनावी नतिजा आइनसक्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई फोन गरेर सहकार्यको अनौपचारिक प्रस्ताव राखिसकेका छन् ।

माओवादी निर्णायक तेस्रो शक्ति नभए पनि कांग्रेस-एमाले मिलेको अवस्थामा बाहेक अन्य अवस्थामा सरकार गठनका लागि उसको सहयोग अनिवार्य जस्तै छ ।

salt training

कमेन्ट गर्नुहोस्