
अघिल्लो चुनावमा वाम गठबन्धन हुँदा प्रतिनिधि सभामा १ क्षेत्र मात्रै चुनाव जितेको नेपाली कांग्रेसलाई वाम–लोकतान्त्रिक गठबन्धन हुँदा फाइदा पुगेको छ ।
यस पटकको चुनावमा ३ वटा प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसले चुनाव जितेको छ ।
सत्तारुढ गठबन्धन हुँदा नेकपा एमाले खुम्चिएको छ । २०७४ सालको निर्वाचनमा ३ वटा क्षेत्र जितेको एमाले यसपटक १ क्षेत्रमा खुम्चिएको छ । प्रदेश सभामा अघिल्लोपटक चुनाव जितेको संख्यालाई कायम गरेको छ । अघिल्लोपटक ५ वटा क्षेत्रमा चुनाव जितेको थियो ।
कांग्रेसले प्रदेशसभा समेत संख्या बढाएको छ । ४ क्षेत्रमा जीतको कांग्रेसले यसपटक १ क्षेत्रमा थप गरेर प्रदेशसभामा संख्या बढाएको हो । २०७४ सालको प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ वटा सिट जितेको माओवादी केन्द्रले यसपटक भने प्रतिनिधि सभामा १ र प्रदेश सभामा २ वटै कायम गरेको छ ।
जनता समाजवादी पार्टीले अघिल्लोपटक जितेको एउटा प्रदेशसभा सदस्य पनि यसपटक गुमाएको छ । नेकपा एकीकृत समाजवादीले मोरङका २ वटा क्षेत्र गुमाएको छ ।
कांग्रेसले यसपटक प्रतिनिधि सभामा १, ३ र ६ नम्बर क्षेत्रमा जितेको छ । प्रदेश सभामा ३(१), ४(२), ५(१), ५(२) र ६(२) मा जीत हात पारेको छ । एमालेले प्रतिनिधि सभामा २ नम्बर क्षेत्रमा जीत निकालेको छ । प्रदेश सभामा एमालेले १(१), १(२), २(२), ३(२) र ४(१) क्षेत्र जितेको छ ।
प्रदेशतर्फ एमाले र माओवादीले २०७४ निर्वाचनमा जितेको सिट संख्या सुरक्षित गरेको छ । कांग्रेसको १ सिट बढाउँदा जनता समाजवादी पार्टी (जसपा) नेपालले विगतमा जितेको १ सिट पनि गुमाएको छ । मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा एमालेले ५, कांग्रेसले ५ र माओवादीले २ सिट हात पारेका छन् ।
मोरङको १ नम्बर क्षेत्रबाट कांग्रेसका डिकबहादुर लिम्बु, ३ नम्बरबाट डा. सुनिलकुमार शर्मा र ६ नम्बरबाट डा. शेखर कोइराला प्रतिनिधि सभामा निर्वाचित भएका छन् । एमालेका ऋषिकेश पोख्रेल र माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मोरङको ५ नम्बर क्षेत्रमा एमालेबाट विद्रोह गरेर उम्मेदवार बनेका योगेन्द्र मण्डल निर्वाचित भएका छन् ।
प्रदेश सभामा एमालेका उमाकान्त गौतम, खड्गबहादुर बस्नेत, लिलाबल्लभ अधिकारी, ज्ञानेन्द्र सुवेदी र जयप्रकाश चौधरी निर्वाचित भएका छन् । कांग्रेसबाट भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, केदार कार्की र मानबहादुर लिम्बु निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट २ जना निर्वाचित भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीज्वाइँ जीवन आचार्य र गणेश उप्रेती निर्वाचित भएका छन् ।