१५ असार २०८३, सोमबार

आधुनिकताले छोएन पशुपालक किसानलाई

मंसिर १३, २०७९
आधुनिकताले छोएन पशुपालक किसानलाई

पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेशा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौंदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।

उनीहरूले अन्य पेशालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन ।

एक परिवारले ४ वटादेखि १ हजार ५०० सम्म पशु पाल्ने गर्छन् । एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेंसी गर्ने गर्छन् ।

पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरू परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् ।
 
स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेशा आफूहरूले अँगाल्दै आएको बताउँछन् । उनले भने, ‘नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।’

उनले १८ भैंसी र १५५ वटा भेडाबाख्रा पाल्दै आएका छन् । उनले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू ९ वर्षको उमेरदेखि गाईभैंसी र भेंडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगर अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउँछन् । उनी अहिले ५१ वर्षका भए ।

‘बाउआमाले गोठमै काम सिकाए, गाईभैंसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ,’ उनले भने, ‘मैले गाईभैंसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैं निको हुन्छन् ।’

स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैंसीपालन गर्दै आएका छन् । उनी आफ्ना पूर्खाले यही पेशा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताउँछन् ।  

उनी भन्छन्, ‘हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरें, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खान–लाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ ।’

salt training

कमेन्ट गर्नुहोस्