
मिलन चाम्सको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक सार्वजनिक गरिएको छ । मंगलवार फर्स्टलुकस्वरुप चलचित्रका तीनवटा पोष्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोष्टरमा चलचित्रमा मुख्य कलाकारहरु विजय लामा, रितेश चाम्स, रियर राईलगायतलाई प्रस्तुत गरिएको छ । गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई पोष्टरमार्फत फस्ट लुकका रूपमा प्रस्तुत गरिएको हो ।
युद्ध मैदानमा उनीहरूले देखाएको बहादुरीलाई पोष्टरमा हेर्न सकिन्छ । १९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई आधार बनाएर निर्माण गरिएको चलचित्रलाई अर्को वर्ष (२०२३) मा रिलिज गर्ने तयारी छ ।
लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय छ ।
चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा सुरेश राई छन् ।
मिलन चाम्स र गिरीराज घिमिरेको लेखन रहेको चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन बीसीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत र एलिस कार्कीको संगीत छ ।
नेपाली, हिन्दी र अंग्रेजीसहित तीन भाषामा निर्माण गरिएको चलचित्र नेपालसहित विश्वका चलचित्र हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन् । गोर्खा सैनिकको बहादुरी र युद्धका विषय मनपर्ने दर्शकहरूलाई चलचित्रले आकर्षित गर्ने देखिन्छ ।