
बलिउड सुपरस्टार आमिर खान पुराना दिन सम्झिएर रोएका छन् ।
आफू धनी परिवारको भएको भ्रम मानिसहरूले पालेको उनको भनाइ छ । फिल्म निर्माताको छोरा भएकाले अािमर सम्पन्न मानिस हो भन्ने सोच अरूले राखेको भए पनि त्यस्तो स्थिति नरहेको उनले बताए ।
पिताले एउटा फिल्म बनाउनका लागि ऋण लिएको तर फिल्म आठ वर्षसम्म नबनेको उनले खुलासा गरे । त्यस ऋणका लागि आफ्नो परिवारले अनेकौं आर्थिक समस्या भोग्नुपरेको उनले बताए ।
ह्युमन्स अफ बम्बेलाई अन्तर्वार्ता दिँदै आमिरले आफू १० वर्षको हुँदा आर्थिक समस्या बेहोरेको बताए । त्यो सुनाउने क्रममा आमिर भावुक भएर आँसु खसाले अनि एकछिन अन्तर्वार्ता पनि रोके ।
फेरि अन्तर्वार्तामा फर्केपछि आमिरले बताए, ‘मलाई बुवाको स्थिति देखेर चिन्ता लाग्थ्यो किनकि उहाँ सरल हुनुहुन्थ्यो । उहाँले ऋण लिनु हुँदैनथियो । उहाँले बनाएका कतिपय फिल्म चले तर उहाँ जहिले पनि आर्थिक अभावमा हुनुहुन्थ्यो ।’
पिताले पछि सबैजनाको ऋण चुक्ता गरेको आमिर सम्झिन्छन् । यस क्रममा आमिरकी आमाले पैसा जोगाउनका लागि लामो पाइन्ट लगाउन दिएको उनको भनाइ छ ।