
काठमाडौं, २९ साउन — उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र हतियारसम्बन्धी तनाव अहिले चरममा पुगेको छ ।

अमेरिकामा मार हान्न सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र उत्तरले जुलाईमा दुईचोटि परीक्षण गरेपछि अमेरिकासँग उसको वाक्युद्ध शुरु भएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले उत्तरविरुद्ध थप आर्थिक प्रतिबन्ध लगाएको छ । तैपनि उत्तर भड्काउको भाषा बोलिरहेको छ । आखिर उत्तरका सर्वोच्च नेता किम जोङ–उन के चाहन्छन् ?
उत्तर कोरियाले आणविक हतियार कार्यक्रम बन्द गर्ने हो भने अमेरिकाले उसलाई जेपनि दिन्छ त ?
अहिलेसम्म यो खतरनाक तनावलाई मत्थर पार्ने कुनै राजनीतिक प्रक्रिया देखिँदैन ।
त्यसो त ट्रम्पले किमसँग वार्ताका लागि प्रयास पनि गरेका छन् तर उत्तर कोरियाले संवाद शुरु गर्ने कुनै पनि संकेत दिएको छैन ।
उत्तर कोरियाको अन्तिम लक्ष्य नै परमाणु हतियार हो त ? उसलाई हतियार छोड्न लगाउन सकिँदैन त ?
सन् २०११ मा सत्तारूढ भएपछि किमले पूरै ध्यान सैन्य आधुनिकीकरण र आर्थिक सम्पन्नतामा लगाएका छन् ।
उत्तरको परमाणु आकांक्षा सन् १९६० को दशकदेखि नै छ । उसले सैन्य र राजनीतिक स्वायत्तताका लागि प्रयत्न गरिरहेको छ । मित्र मुलुकहरू चीन र रुसमाथि निर्भर रहन चाहँछैन उत्तर ।
उत्तर कोरियाको कदम आफ्नो सामरिक हितका लागि हो । उसका अगाडि इराक र लिबियाको उदाहरण छ । ती दुई देश ध्वस्त भएबाट बच्नुछ भने हतियार जसरी भएपनि उसले जम्मा गर्नुपर्ने हुन्छ ।
अमेरिकाले उत्तर कोरिया आफ्नो दुश्मन नभएको बताइरहेपनि दक्षिण कोरियामा २८ हजार अमेरिकी सैनिकका साथ परमाणु शक्ति विद्यमान रहेकोमा उत्तर चिढिएको छ । अमेरिकाले पहिलेपनि परमाणु बम प्रयोग गरेकाले उत्तर डराएको छ ।
परमाणु र क्षेप्यास्त्र परीक्षणको लक्ष्य किमको पहिचानको राजनीतिको अंग पनि हो । उत्तर कोरियामा किम वंशको राजनीतिक नेतृत्वको जरो अमेरिकासँगको शत्रुता र उसलाई बचाउसँग जोडिएको छ । सन् १९५०–५३ को कोरियाली युद्धमा उत्तर कोरियाले अमेरिका नै आफ्नो देश सिध्याउने शत्रु भएको प्रोपागान्डा गरेको थियो ।
युद्धमा अमेरिकी कारवाहीहरूलाई सम्झिँदै उत्तर कोरियाको पुरानो पुस्ताले त्यतिखेर आफ्नो देशका सबै प्रमुख शहरहरू बर्बाद भएको बताउँदै आएका छन् । यी कुराले उत्तर कोरियाको वर्तमान पुस्तालाई किमको राजनीतिसँग सहमत गराउन मद्दत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरविरुद्ध आगो बर्साउने बयान दिएर किमको प्रोपागान्डालाई बल दिएका छ् । यस्तोमा उत्तरका जनताले यस्तो बेलामा नेतृत्वलाई साथ दिनुपर्ने कर्तव्य महसूस गरेको देखिन्छ । अघिल्लो साता ठूलो संख्यामा उत्तर कोरियालीहरू भेला भएर प्रदर्शन गरेबाट पनि यो कुरा पुष्टि हुन्छ ।
उत्तर कोरियाको प्राथमिकता नै क्षेप्यास्त्र र परमाणु परीक्षण जारी राख्ने हो ताकि युद्ध भएमा उससँग पर्याप्त प्रतिरोधक क्षमता कायम रहोस् । आणविक हतियार रहुञ्जेल आफ्नो प्रासंगिकता रहेको धारणा किमको मनमा दृढ छ ।
उसलाई यस मामिलामा चीनबाट कुनै समस्या छैन किनकि ऊ उत्तरमाथि थप प्रतिबन्ध लगाउन चाहँदैन भलै उसले पनि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धमा समर्थन जनाएको होस् ।
अनुभवी पर्यवेक्षकहरूका अनुसार उत्तर कोरिया एक ठोस सामरिक स्थितिमा आएपछि संवादको प्रक्रिया अघि बढाउन सहमत हुनेछ ।
बीबीसी हिन्दीबाट