११ असार २०८३, बिहीबार

१६ वर्षदेखि झुपडीको वास

मंसिर १९, २०७९
१६ वर्षदेखि झुपडीको वास
प्रतिकात्मक तस्वीर

खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउँदयाम शुरू भयो । 

अवरोधभित्र सिरेटो छिर्छ तर राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो ।

उनी त्यस्ता सिरोटो खप्ने बानी नै परिसकेका छन् । ‘२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो,’ उनले भने, ‘त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।’ उनले त्यो छाप्रोमा १६ वर्ष बिताइसकेका छन् ।

जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उनले बताए । ‘हजुरहरू केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला,’ उनले भने, ‘झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।’ 

उनका २ छोरा छन् तर दुवै छोरा छुट्टै बस्छन् । कहिलेकाहीँ जेठा छोराकामा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उनको बास हुन्छ । त्यो छाप्रोलाई पनि उनले २ तले बनाएका छन् । तल खाना पकाउने र माथि सुत्ने बनाएका छन् ।

उनकी श्रीमती बितेको पनि धेरै वर्ष भयो । उनी अहिले त्यही छाप्रोमा एक्लै जीवन बिताएका छन् ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने यो घरमा टिन उपलब्ध गराउने बताए । उनले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताए ।

‘वास पनि आधारभूत कुरा हो,’ उनले भने, ‘हाम्रो पालिकाभित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्